इटहरीः सुनसरीको सीमा नाकाबाट भएको स्याउ तस्करी प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।
सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन भएको हो । समितिमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिएसपी लक्ष्मी भण्डारी लगायत सदस्य छन् । समितिलाई ७ दिन भित्र यो प्रकरणको सत्यतथ्य छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ । प्रदेश डिआइजीको सचिवालयले छानबिनको लागि औपचारिक पत्र समितिलाई पठाइसकेको छ । समितिको आइतबार नै गठन भई एसएसपीको नेतृत्वमा छानबिनको प्रक्रिया सुरु गरिएको प्रदेश प्रहरीका प्रवक्ता एसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । समितिले अब तिन ट्रक चिनिया स्याउ भारत तर्फ कसरी तस्करी भएको भन्ने विषयमा कारबाहीमा तानिएका प्रहरीका इन्चार्ज तथा प्रहरीसँग बयान लिने छ ।
यता सशस्त्र प्रहरीको नं.१ बराह बाहिनी मुख्यालय पकलीले पनि स्याउ तस्करीको प्रकरणमा एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । हाल भारतको वीरपुर एरियामा तस्करीको स्याउ बरामद भएकाले सुनसरीको कोसी, श्रीपुर र भाण्टाबारी विओपीमा कार्यरत रही रातीको समयमा ड्युटीमा रहेका १५ जना सशस्त्र प्रहरीलाई समेत फिर्ता बोलाइएको छ । जसमा बिओपीका प्रमुख प्रहरी निरीक्षकको हकमा समेत सोधपुछ तथा अनुसन्धान हुनेछ । सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालय पकलीका डिआइजी वंशीराज दाहालले एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको जानकारी दिए । सीमाबाट तस्करी जन्य कुनै पनि सामान ओसार पसार हुनु गम्भीर विषय भएको भन्दै छानबिन गर्न निर्देशन दिएको उनले बताए । तस्करी मार्फत चाइनिज स्याउ लोड गरिएका तीन वटा ट्रक भारत वीरपुर क्षेत्रमा भारतीय प्रहरी र एसएसबीको टोलीले आइतबार बिहान नियन्त्रणमा लिएको थियो । भारतीय प्रहरीका अनुसार ट्रकमा १३ सय कार्टुन चाइनिज स्याउ फेला परेको थियो ।