धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि थप गरेको बेला धरान उपमहानगरपालिका र मातहतका कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सूचारु हुने भएको छ ।

निशेधाज्ञाको परिपालन गर्दै मिति २०७८÷०१÷२२ गतेबाट धरान उपमहानगरपालिका र मातहतका कार्यालयको अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको थियो । हाल जिल्ला प्रशासन कार्यालय सुनसरीबाट मिति २०७८÷०३÷०७ गते सम्म निशेधाज्ञाको समयावधि थप गरिएको छ । तर, धरान उपमहानगरपालिकाले भने मिति २०७८÷०३÷०१ गतेदेखि उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा मातहतका सबै कार्यालयहरुबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु सुचारु हुने निर्णय गरेको छ । उपमहानगरपालिकाले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सम्पूर्ण प्रोटोकलहरु पूरा गरी कार्यालयहरु सञ्चालन गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले यसअघि जेठ ३१ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा असार ७ गतेसम्म थप गरेको हो ।

निषेधाज्ञा थप गरिएसँगै पसल सञ्चालनको समयसीमा भने हेरफेर गरिएको हो । डीसीसीएमसीका अनुसार यसअघि बिहान १०ः०० बजेदेखि अपराहन्न ३ः०० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी तथा स्टेसनरीजस्ता पसल सञ्चालनको अनुमति दिएकोमा अब बिहान ५ः०० बजेदेखि ११ः०० बजेसम्म पसल सञ्चालनको व्यवस्था गरिएको छ । हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो लहर को संक्रमण दर दिन प्रति दिन बढ्दै गएकाले सोको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै आएको छ ।

FB_IMG_16236725284549509