इटहरीः प्रसुति गराउने क्रममा उच्च रक्तस्राव भएर ओखलढुङ्गामा एक सुत्केरी महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोलुङ गाउँपालिका–६ श्रीचौरका जङ्बु शेर्पाकी ३० वर्षीया श्रीमती डोमा शेर्पा रहेको स्थानीय शिवकुमार कार्कीले जानकारी दिए । उनका अनुसार शिशुको जन्म भइसकेपछि उच्च रक्तस्राव नियन्त्रण गर्न नसक्दा सुत्केरीको ज्यान गएको हो । डोमालाई आइतबार श्रीचौर स्वास्थ्य चौकीले ओखलढुङ्गा सामुदायिक अस्पतालमा सिफारिस गरेकोमा परिवारजनले अस्पताल नलगी स्थानीय पेशा पेशला पोलिक्लिनिकमा भर्ना गरेका थिए । कोरोना कहरको डरले सुरुमा अस्पताल नलगिएको र आपतकालीन अवस्थामा अस्पताल लैजान नसकिएको पारिवारिक स्रोतले जनाएको छ ।