झापाः झापाको दमकमा कोरोना भाइरसको सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको छ । दमक–५ का पुरुषको आइतबार मृत्यु भएपछि दोस्रो भेरियन्टयता कोरोना महामारीबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

दमकमा कोरोनाको दोस्रो भेरियन्टबाट हालसम्म कूल एक हजार एक सय ३७ जना सङ्क्रमणमुक्त भइसकेका पनि स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । दमकमा पिसिआर तथा एन्टिजेन परीक्षणमार्फत हालसम्म कूल एक हजार पाँच सय १२ जनामा कोरोनाको दोस्रो भेरियन्ट पुष्टि भइसकेको छ । तीमध्ये महिलाको सङ्ख्या सात सय ३२ छ । दमकमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ५२ रहेको र होम आइसोलेसनमा रहेकाको सङ्ख्या तीन सय ४७ रहेको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले हालसम्म एक हजार एक सय ४६ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार झापामा आइतबारसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ६४ रहेको छ । जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या १२ हजार दुई सय ४२ पुगेको छ । कोरोना सङ्क्रमणबाट जिल्लाको दमकसहित बिर्तामोड, भद्रपुर र मेचीनगर बढी प्रभावित भएको पाइएको छ । -रासस