इटहरीः जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लामा जारी निषेधाज्ञा एक साता थप गरेको छ ।
कोरोना संक्रमणको बढ्दो विस्तारलाई नियन्त्रण गर्न यसअघि जारी गरिएको निषेधाज्ञाको अवधि असार १ गते समाप्त हुने भएको तर जिल्लामा संक्रमण अझै नियन्त्रणमा नआएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा अवधि बढाएको हो । डीसीसीएमसीका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले थप गरिएको निषेधाज्ञा असार ७ गते मध्यराति १२ः०० बजेसम्म जारी रहने जानकारी दिए ।
उनका अनुसार जिल्लामा खाद्यवस्तु, इन्धन, निर्माण सामग्री, पुस्तकजस्ता वस्तुको बिक्री वितरणका लागि बिहान ५ः०० बजेदेखि ११ः०० बजेसम्म पसल सञ्चालन गर्न पाइने भएको छ । यसैगरी, दुध तथा दुग्धजन्य वस्तुको बिक्री वितरण बिहान ६ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म गर्न सकिने छ । कुटनीतिक नियोगका सवारी, पत्रपत्रिका वितरणमा प्रयोग हुने सवारी डाँक तथा कुरियर सेवा निर्वाध रुपमा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।