इटहरीः पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभएसँगै स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए । उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको छ । वार्डमा अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको छ । सामान्य अवस्थामा रहेका नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ ।
उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको लक्षण हेर्दा कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ । आवश्यक जाँच तथा उपचार प्रक्रिया जारी राखिएको अस्पताल स्रोतले जनाएको छ ।