इटहरीः आज विश्व रक्तदाता दिवसको अवसरमा सुनसरीको इटहरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
दिवसको अवसरमा प्रदेशका विभिन्न अस्पतालमा भएको रगत अभावलाई मध्यनजर गर्दै रक्तदान गरिएको हो । विशेषतः कोरोना महामारीले प्रदेशमा रगतको चरम अभाव भएकाले नेपाल रेडक्रस सोसाइटी उपशाखा इटहरी र नेपाल विद्युतीय प्राविधिक समुह प्रदेश १ ले संयुक्त रुपमा रक्तदान गरेका हुन् । अस्पतालमा मात्र नभएर रेडक्रसको धरान शाखामा रहेको ब्लड बैंकमा समेत रगतको अभाव भएकाले महामारीकै बीच रक्तदान गरिएको रेडक्रस इटहरी उपशाखाका सभापति विमल पौडेलले जानकारी दिए ।
महामारीको समयमा मात्र नभएर सामान्य समयमा समेत इटहरीमा उल्लेख्य मात्रामा रक्तदान हुने गरेको उनले बताए । धरानको ब्लड बैंकमा संकलन हुने रगतमा इटहरीले ५० देखि ६० प्रतिशत हिस्सा ओगटेको उनले जानकारी दिएका छन् । सोमाबार ४० पिन्ट रगत संकलन भएको पनि उनले बताए । कार्यक्रममा प्राविधिक समुह प्रदेश १ का अध्यक्ष यज्ञराज दाहालको समेत उपस्थिति रहेको थियो ।