इटहरीः सुनसरीको लौकहीस्थित सशस्त्र प्रहरी बलको बेस क्याम्पका प्रमुख प्रहरी निरीक्षक अरुण पाण्डेमाथि निर्दोष व्यक्तिलाई गैरन्यायिक हिरासतमा राखी कुटपिट गरेको आरोपमा कारबाही अगाडि बढेको छ ।
जिल्लाको इनरुवा नगरपालिका ८ का रहमुल मन्सुरी, सोही ठाँउ बस्ने कलिम मन्सुरी र भोक्राहा नरसिंह गाउँपालिका बस्ने आजाद मन्सुरीले आफूहरुमाथि प्रहरी निरीक्षक पाण्डेको टोलीले अनाहकमा कुटपिट गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निजविरुद्ध जाहेरी दिएपछि कार्यालयले उनीमाथि कारबाहीका लागि सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीलाई पत्राचार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेठ २७ गते कोशी गाउँपालिकास्थित एक किसानको घरमा गई चौपायाको मोलमोलाइ गरिरहेका बखत प्रनि पाण्डेसहितको सशस्त्र प्रहरी बलको टोलीले आफूहरुलाई पक्राउ शैलीमा भ्यानमा राखी बेस क्याम्प पुर्याई लाठी, बुट र मुक्काले निर्घात कुटपिट गरेको पीडितहरुले बताएका छन् । आफूहरुमाथि भएको कुटपिटको कारणबारे अनभिज्ञता प्रकट गर्दै उनीहरुले प्रनि पाण्डेले आइन्दा सो क्षेत्रमा गए ज्यान खतरामा पर्नसक्ने धम्की दिँदै ६ घण्टापछि पाण्डेले आफूहरुलाई हिरासतमुक्त गरेको उल्लेख गरेका छन् ।
यता, निर्दोष नागरिकमाथि कुटपिटको आरोप लागेका प्रहरी निरीक्षक पाण्डेले भने आरोप अस्वीकार गर्दै नेपाल भारत नाका सील भएको अवस्थामा दशगजामा मोटरसाइकलसहित तीन जना फेला परेकोमा सशस्त्र प्रहरी बलको टोलीलाई देखेपछि भागेको र मोटरसाइकल भने आफूहरुको नियन्त्रणमा आएपछि जिल्लास्थित कार्यालयमा बुझाएको दाबी गरेका छन् । कसैलाई पनि नियन्त्रणमा लिने र कुटपिट गर्ने कार्य नगरेको उनको जिकीर छ ।