इटहरीः झापा र इलामामा लागूऔषध ब्राउनसुगरसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हिजो आइतबार दिनको ३ बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका ३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियालाई लागूऔषध ब्राउनसुगर ४ ग्रामसहित घरबाटै पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । त्यस्तै हिजै अपराहन्न ५ बजे प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले इलामको माई नगरपालिका ४ स्थित शंकरगाउँबाट लागूऔषध ब्राउनसुगर ५ ग्रामसहित सोही स्थान ८ का २८ वर्षीय महेश थापा, ३० वर्षीय कुविरसिंह तामाङ, सोही स्थान १ का २२ वर्षीय रुपेश कुमार खत्री र सोही स्थान ३ का २३ वर्षीय सुदीपकुमार दनुवारलाई पक्राउ गरिएको प्रदेश प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रहरीले अभियुक्तहरुले प्रयोग गरेको प्रदेश १–०१३ प. ७२२२ र ना. ३२ प. ६९१९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका अभियुक्तहरुउपर सम्बन्धित जिल्लाको जिल्ला अदालतबाट म्याद थप गराई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाउन अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।