इटहरीः नेपाल प्रहरीले कोरोना महामारीका विच लागू गरेको निषेधाज्ञा उल्लंघन गर्ने झण्डै दुई हजार सवारीलाई आइतबार नियन्त्रणमा लिएको छ ।

विभिन्न जिल्लामा लागु गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार नौ सय ६८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । तीमध्ये ६ सय ५५ वटा चारपांग्रेभन्दा ठूला सवारी साधन र एक हजार तीन सय १३ वटा मोटरसाइकल रहेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने पाँच सय २८ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ५३ हजार चार सय रुपैयाँ जरिवाना गरिएको प्रहरीले जानकारी दिएको छ ।

सो क्रममा चार हजार तीन सय १७ जनालाई सामान्य सोधपुछ गरी छोडिएको प्रहरीको भनाइ छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिव्रता दिएको छ ।