धरानः राष्ट्रिय राजनीतिदेखि लिएर स्थानीय मुद्दाका विषयमा हालै गठित धरान नागरिक दबाब सञ्जालले धरान उपमहानगरपालिकामा विभिन्न विषयमा छलफल गर्दै आइतबार मौन जुलुस गरेको छ ।
स्थानीय मुद्दाका रुपमा धरान १५ अस्थायी प्रहरी चौकीमा भएको प्रहरीमाथिको आक्रमण, सर्दु खोलामा उत्खनन रोक्न जाने क्रममा भएको घटना र चुरे दोहनका लागि खानी उत्खननको प्रयासका विरुद्धमा माइन्युटिङ गरिएको छ । जसमा धरान उपमहानगरपालिकाका पदाधिकारी, इलाका प्रशासन कार्यालय धरान, इलाका प्रहरी कार्यालय धरान, र विभिन्न राजनीतिक दलहरु सहभागी भएर माइन्युटिङ गरिएको हो । यस प्रकारका गम्भीर गल्ति र त्रुटिहरु हुन नदिनका लागि विशेष पहल गर्न छलफल भएको सञ्जालका सदस्य भवानी बरालले बताए । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुसँग दोस्रो चरणको छलफल अघि बढाउन उपमहानगरपालिकाले मध्यस्तकर्ताको भूमिका निर्वाह गर्ने र छलफल अघि बढाउने निर्णय भएको छ । प्रहरी चौकी आक्रमणको घटनाबारे गुण्डाहरुको संरक्षण कसैले पनि नगर्ने र दोषीमाथि कडा कारबाही गर्ने निर्णयसमेत भएको छ ।
यस्तै, सर्दुको घटनामा उपमहानगरपालिकाले जेठ मसान्तसम्म नियम अनुसार ठेक्का लगाएको, ठेकेदारको काम अवरोध गर्न जाने दिन घटना भएको र उक्त दुःखद घटनामा घाइते भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दै अब उप्रान्त त्यस्तो घटना हुन नदिने निर्णय भएको संयोजक राजेन्द्र शर्माले बताए । यसैबीच, सञ्जालले धरान उपमहानगरपालिकादेखि भानु चौकसम्म मौन शान्तिपूर्ण र्याली पनि प्रदर्शन गरेको छ । चुरे दोहनदेखि, राजनीतिक प्रतिगमन, स्वास्थ्य माफियाको विरोधमा र्याली निकालिएको हो । प्रतिगमन मुर्दावाद, असंवैधानिक कू खारेज गर, सर्दु जग्गा फिर्ता ले, स्वास्थ्य माफियाकरण बन्द गर, शिक्षामा व्यापारीकरण बन्द गर, बीपी प्रतिष्ठानमा राजनीति बन्द गर लगायतका २४ वटा नारासहित प्लेकार्ड लिएर र्याली निकालिएको थियो ।
नेपाल सरकारले बजेटमा सम्बोधन गरेलगत्तै देशभरिका ९२ स्थानमा खानी उत्खननका लागि खोजी अभियान जारी रहेको छ । यस क्रममा ५२ स्थानमा चुरे क्षेत्र पर्ने देखिएको छ । धरानको सुँगुरेडाँडा भनेर उल्लेख गरेको भए पनि उक्त स्थान यहाँ नभएकाले साँगुरीडाँडा हो भनी अनुमान गरिएको छ ।