इटहरीः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ ।
आयोगको इटहरी सम्पर्क कार्यालयबाट निमित्त कार्यवाहक प्रमुख पुरुषोत्तम ढकालको नेतृत्वमा खटिएको टोली आज बिहान ११ बजे प्रतिष्ठान पुगी शिक्षाध्यक्ष गुरु खनालसँग भेट गरी लेखा, खरिद तथा मूल्याङ्कन शाखाका कर्मचारीसँग सोधपुछ गरेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । टोलीले पुनः आउने जानकारी दिँदै खरिद तथा मूल्याङ्कन शाखाका केही महत्वपूर्ण कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको स्रोतको भनाइ छ ।
कागजात कोभिड अस्पतालसँग सम्बन्धित रहेको बुझिएको छ । प्रतिष्ठान अन्तर्गतको कोभिड अस्पतालमा अनियमितता भएको उजुरी परेकाले आयोगले अनुसन्धान अगाडि बढाएको हो । प्रतिष्ठानमा लामो समयदेखि जारी रहेको विभिन्न अनियमितताविरुद्ध अख्तियारमा उजुरी परेका छन् । पछिल्लो समय प्रतिष्ठानको बेथिति सुधारका लागि नागरिक स्तरबाट गठित विभिन्न दबाब समूहरुले समेत प्रतिष्ठानको व्यवस्थापन र पारदर्शितामा प्रश्न उठाइरहेका छन् ।