इटहरीः पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्या अनुसन्धानको लागि प्रहरीले तालिमप्राप्त कुकुर ‘लैला’ र ‘पिकु’ लाई पाँचथर पठाएको छ ।
सङ्घीय प्रहरी इकाई कार्यालय धरानबाट सई दयानन्द श्रेष्ठको कमान्डमा लैला र पिकुलाई घटनास्थल लगिएको छ । कर्तव्य ज्यान जस्ता संम्वेदनशिल घटनाहरूमा अपराधी तथा प्रमाण पहिचान गर्न ट्रयाकर विधाको डग प्रयोग गरिन्छ । लैला र पिकुले घटना अनुसन्धानमा केही महत्त्वपूर्ण सुराक र शङ्कास्पद व्यक्ति पहिचान गराउन प्रहरीलाई मद्दत गरेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माका अनुसार वृद्धको हत्या अनुसन्धानको लागि लैला र पिकुले सहयोग पुर्याएका छन् ।
दुवै कुकुरको सक्रियतामा प्रहरीले महत्वपूर्ण उपलब्धि प्राप्त गरेको उनले जानकारी दिए । इङ्वाको गएराति धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । मृतक इङ्वा भारतीय सेनाबाट अवकास प्राप्त गरी ८४ वर्षीया श्रीमति कालिमायासँग बस्दै आएको उल्लेख गर्दै प्रहरीले उनको टाउको र शरीरमा चोट देखिएको जनाएको छ ।