ताप्लेजुङः ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले महिलाहरुको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले उनीहरुलाई बाख्राका पाठी उपहार दिन सुरु गरेको छ ।
महिला लक्षित आयआर्जन तथा सीप विकास कार्यक्रममार्फत गाउँपालिकाभित्रका लक्षित महिलालाई बाख्राको पाठी उपलब्ध गराएको गाउँपालिकाका पशु शाखा कार्यालय प्रमुख भीमलाल बयलकोटीले जानकारी दिए । विपन्न तथा लक्षित समुदायको आयआर्जन विकास गर्नका लागि गाउँपालिकाले छनोट गरेको महिलालाई पाठी उपलब्ध गराउने उनले बताए । गाउँपालिको प्रत्येक वडामा दश जना विपन्न महिलालाई पाठी खरिद गर्नका लागि छ हजारका दरले ६० हजार र प्रत्येक वडामा बीउ बोका खरिद गर्न लागि १५ हजार पशु शाखा कार्यालयको कार्यक्रममार्फत पाठी उपलब्ध गएको पशु शाखाले जनाएको छ । गाउँपालिकामा आठ वडा रहेका छन् । प्रत्येक वडामा दसवटा बाठी र बीउ बोका गरी ८० पाठी र आठ बोका वितरण हुने पशु शाखाले जनाएको छ ।
महिला तथा बालबालिका शाखा र गाउँपालिकाको संयुक्त कार्यक्रमअन्तर्गत महिलालाई लक्षित गरेर आवश्यकताअनुसार समूह गठन गरेर विभिन्न आयआर्जनको विकास गर्नका लागि भिन्न कार्यक्रम सञ्चालन गर्दै आएका उपाध्यक्ष रनमाया गुरुङले बताइन् । महिलालाई जीविकोपार्जनसँगै व्यावसायिक बन्न प्रेरित गर्ने उद्देश्यले महिला लक्षित कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनले जानकारी दिइन् । गाउँपालिकाभित्रका तीन सय ७० घरका महिलालाई पाठी उपहार उपलब्ध गराइसकेको जनाइएको छ । उनले भनिन्, ‘महिलाहरुको सीप विकास र आयआर्जन विकास गर्नका लागि म निर्वाचित भएसँगै लागिपरेको छु ।’ समुदायको माग र आवश्यकताअनुसार पशु शाखा कार्यालयका प्राविधिक कर्मचारीहरुले समूह गठन गर्ने र आवश्यक परामर्श र सहजकर्ताको काम गर्दै आएको गाउँपालिकाका महिला तथा बालबालिका शाखाप्रमुख रामकला कार्कीले बताइन् ।
विपन्न परिवार तथा लक्षित महिलालाई प्रत्यक्ष जीविकोपार्जन गर्नमा टेवा पुगेको उनले बताइन् । अघिल्लो आवमा तीन सय महिलालाई उन्नत जातको बाख्रा उपलब्ध गराइएको थियो भने चालु आवमा तीन सय ७० महिलालाई पाठी उपलब्ध गराइएको थियो । महिलाहरु आयआर्जन तथा जीविकोपार्जन कार्यक्रममा चालु आवमा गाउँपालिकाले २० लाख विनियोजन गरेको गाउँपालिकाले जनाएको छ । आगामी आवको बजेटमा पनि कार्यक्रलाई निन्तरता दिने उपाध्यक्ष गुरुङले बताइन् । -रासस