इटहरीः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि यथावत राख्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय परिसरमा आज प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले यसअघि जेठ ३१ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञा असार ७ गतेसम्म थप गरेको हो । निषेधाज्ञा थप गरिएसँगै पसल सञ्चालनको समयसीमा भने हेरफेर गरिएको छ । डीसीसीएमसीका अनुसार यसअघि बिहान १०ः०० बजेदेखि अपराहन्न ३ः०० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी तथा स्टेसनरीजस्ता पसल सञ्चालनको अनुमति दिएकोमा अब बिहान ५ः०० बजेदेखि ११ः०० बजेसम्म पसल सञ्चालनको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको महामारी सुरु भएयता मानवीय क्षतिसमेत हुन थालेपछि सोको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्दै आएको छ ।