इटहरीः कोरोना भाइरसको महामारी नियन्त्रणका लागि नेपाल भारत सीमा सील गरिएको अवस्थामा सुनसरीबाट भने भारततर्फ स्याउ तस्करी भएको खुलासा भएको छ ।
जिल्लाको कोशी गाउँपालिकाको श्रीपुरजब्दी हुदै लाही नाकाबाट भारतको वीरपुर क्षेत्रमा पुगेको तीन ओटा ट्रकसहित आठ जनालाई भारतीय सीमा सुरक्षा बलको ४५ औँ बटालियनले पक्राउ गरेपछि तस्करीको रहस्य खुलेको हो । बटालियनले आज बिहान प्रदेश १–०२ –००१–ख ८०४१ नम्बर, ना ६ ख १५१२ नम्बर र ना ४ ख १८९५ नम्बरको ट्रकमा ४ सय ५१ कार्टुनका दरले १३ सय कार्टुनभन्दा बढी चिनियाँ स्याउ बरामद गरेको हो । सीमावर्ति क्षेत्रबाट पर्याप्त संख्यामा परिचालित नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको उपस्थितिका बाबजुद भारततर्फ भारी परिमाणमा स्याउ तस्करी भएपछि जिल्लाका नाकामा परिचालित प्रहरीमाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले कारबाही अगाडि बढाएको छ ।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको निर्देशन अनुसार जिल्लाका श्रीपुर, हरिपुर र भण्टाबारी नाकामा परिचालित प्रहरीमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाले जानकारी दिए । उनका अनुसार प्रहरी सहायक निरीक्षक (असइ) को नेतृत्वमा परिचालित सात सात जनाको दुई टोली तथा प्रहरी नायबनिरीक्षकको कमाण्डमा रहेको २० सदस्यीय टोली गरी ३४ जना प्रहरी अनुसन्धानका लागि इनरुवा झिकाइएका छन् । यसैगरी, सशस्त्र प्रहरी बलले पनि आफ्ना १५ जना सुरक्षाकर्मीलाई ड्युटी क्षेत्रबाट फिर्ता गरी अनुसन्धानमा तानेको सुनसरीका सशस्त्र प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद पौडेलले जानकारी दिए ।