इटहरीः मोरङको कानेपोखरी गाउँपालिका ३ स्थित आफ्नै छिमेकीको मकैबारीमा मृत फेला परेकी सोही स्थानकी १६ वर्षीया किशोरी सीता चौधरी (पुतली) को हत्याको आरोपमा तीन जनाविरुद्ध इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेमा किटानी जाहेरी दर्ता भएको छ ।
मृतकका परिवारजनले मृतकका मामा प्रकाश चौधरी, माइजु सञ्जु चौधरी र शव भेटिएको मकैबारीका मालिक प्रकाश खड्काविरुद्ध किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार वैशाख २२ गते अपराहन्न ३ बजे सीता शंकास्पद अवस्थामा मृत फेला परेपछि जेठ २० गते आफन्तले तीन जनाविरुद्ध किटानी जाहेरी दिएका हुन् । अभियुक्त खड्काकै घरमा काम गर्ने मृतक किशोरीको शव फेला परेपछि खड्का परिवारले घरमा लगी शरीरमा तेल लगाएको र सो क्रममा मृतकको कपडा खोल्दा योनीबाट रगत बगेको देखिएको परिवारजनले बताएका छन् । शव फेला परेपछि प्रहरीलाई खबर नगरी घरमा लगेर तेल लगाउने कार्य नै शंकास्पद रहेको परिवारजनको भनाइ छ ।
यसैगरी, अभियुक्त खड्काले किशोरी हराएपछि सर्पले टोकेर वा पानीमा डुबेर मरेको हुनसक्ने हल्लासमेत चलाएको मृतकका परिवारको भनाइ छ । प्रहरीले भने जाहेरी दर्ता भएको लामो समय बित्दासमेत अभियुक्तहरुलाई पक्राउ गरेको छैन । यसले गर्दा मृतक बालिकाका परिवारजन प्रहरीप्रति पनि सशंकित देखिएका छन् । मृतक किशोरीलाई अभियुक्तका परिवारजनले रङ्गेली अस्पताल पुर्याकोमा अस्पतालले मृत घोषित गरेपछि कोसी अस्पताल विराटनगरमा पोस्टमार्टम गरी २३ वैशाखमा डाँस खोलामा दाहसँस्कार गरिएको थियो । प्रहरीले भने भिसेरा रिपोर्ट आएपछि मात्र थप कारबाही अगाडि बढाउन सकिने जिकीर गरेको छ । भिसेरा परीक्षणका लागि नेपाल प्रहरीको काठमाडौँस्थित विधि विज्ञान प्रयोगशाला पठाइएको प्रहरीले जनाएको छ ।