इटहरीः गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको छ । भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

सरकारलाई हस्तान्तरण गर्नासाथ गोर्खा सेमेट्रि ट्रस्ट नेपालले ती भेन्टिलेटरहरु आवश्यक ठहर गरिएका नेपालका विभिन्न अस्पतालहरुमा दुइदिनदेखि आफैँ वितरण गर्न थालेको छ । राष्ट्रिय खेलकुद परिषदका निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सिमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले हङकङस्थित ट्रस्टबाट प्राप्त भएका भेन्टिलेटर वितरण गर्न आफै नेपालको पश्चिम क्षेत्रमा पुगेको बताए । उनका अनुसार शनिबारसम्ममा ५० थानमध्ये पोखराको प्रादेशिक अस्पताललाई ५ थान, म्याग्दीको सामुदायिक अस्पताललाई २ थान, बाग्लुङ अस्पताललाई २ थान, लुम्बिनी प्रादेशिक अस्पताल र दाङको बेलझुण्डी अस्पताललाई चारचार थान वितरण भइसकेको छ । एनेस्थेसिया विभाग र जनशक्ति नभएका अस्पतालमा भने भेन्टिलेटर उपलव्ध नगराएको उनले बताए ।

उनले पूर्वका विभिन्न अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि पोर्टेवल भेन्टिलेटर दिने तयारी भइरहेको बताए । हङकङस्थित सरकारी विद्यालयका शिक्षक समेत रहेका ट्रस्टका कार्यकारी सदस्य देवराज राईले पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर नेपाल सरकारलाई पठाएर वितरण पनि भइरहेको बताए । ट्रस्टले नेपालका कोरोना संक्रमितहरुका लागि हङकङमा रहेर अन्तराष्ट्रिय समुदाय र गैर सरकारी संघसंस्था, विश्वभरी छरिएर बसेका नेपाली दातासँग सहयोगको आव्हान गरेको थियो । उनका अनुुसार हङकङस्थित ट्रस्टले पहिलो चरणमा १७ हजार अमेरिकी डलरको पोर्टेवल भेन्टिलेटर खरिद गरेर नेपाल पठाएको हो । ट्रस्टले नेपालका बालबालिकाको शिक्षामा सहयोग गर्दै आएको छ ।