इटहरीः उदयपुरको ताप्ली गाउपालिका ४ पोखरीस्थित कच्ची सडकमा शनिबार बेलुका साढे ७ बजे लहानबाट लखनडाँडा तर्फ मिलको मेशिन बोकेर जादै गरेको बा१८च १५६७ नम्वरको वोलेरो गाडी आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खस्दा बोरेलोमा सवार ४ जना मध्ये १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका १० का ६० वर्षीय इन्द्र वहादुर बि.क. रहेका छन् । सो दुर्घटनामा उदयपुर कटारी नगरपालिका १० का बोलेरो चालक ३५ वर्षीय डाँकनारायण श्रेष्ठ, उदयपुर ताप्ली गाँउपालिका ४ ठानागाँउ ज्यामिरेका ३० वर्षीय झगरबहादुर सार्की र सोही स्थानका २६ वर्षीय डम्वरबहादुर तामाङ घाइते भएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रुपाटार र रामपुर झिल्केबाट प्रहरी टोली खटी गई घाइतेहरुमध्ये श्रेष्ठ र सार्कीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाएको इटहरी ट्राफिकका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) सुमन तिम्सिनाले बताए ।

उनका अनुसार अर्का घाईते तामाङको सामान्य हात खुट्टामा चोट लागेकोले सामान्य उपचारपश्चात् उनी घरमा नै रहेका छन् । दुर्घटनामा परि मृत्यु भएका बि.क.को शव घटनास्थलमा नै रहेकोले कानुनी प्रकृया पूरा गर्नको लागि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी नायबउपरीक्षकको टोली खटि गएको प्रहरीले जनाएको छ ।