इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका ४ स्थित बगैँचा टोलबाट प्रहरीले आफ्नै श्रीमतिको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँमा डेरा गरी बस्ने न्याधिस राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायबउपरीक्षक (डीएसपी) अर्जुन केसीले जानकारी दिए । उनका अनुसार अभियुक्त न्याधिसमाथि सुनसरी जिल्ला अदालतबाट कर्तव्य ज्यान उद्योग मुद्दामा म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ । जेठ २७ गते सुतेकै ठाउँमा मृत भेटिएकी ३५ वर्षीया सुनिता राईको पोस्टमार्टम रिपोर्टका आधारमा उनको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले शुक्रबार अभियुक्त न्याधिसलाई नियन्त्रणमा लिएको डीएसपी केसीको भनाइ छ ।

अत्याधिक मदिरा सेवन गरी सुतेकी महिलाको मदिरा सेवनकै कारण ज्यान गएको अनुमान गरिपनि पोस्टमार्टम रिपोर्टमा टाउको गम्भीर चोट देखिएपछि अभियुक्त न्याधिसलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।