साओ पाउलोः कोरोनाभाइरस नियन्त्रण गर्न लागु भएका मापदण्ड पालना नगरेको भन्दै ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई जरिवाना तिराइएको छ ।

शनिबार राष्ट्रपति बोल्सोनारो साओ पाउलो शहरमा झन्डै १२ हजार जना सहभागी भएको मोटरसाइकल ¥यालीमा सहभागी भएका थिए । ¥यालीमा सहभागी कसैले पनि मास्क लगाएका थिएनन् । सुरूमा मोटरसाइकल चलाएका बोल्सोनारोपछि ट्रकमा चढेका थिए । उनले भ्याक्सिन लगाइसकेकाले मास्क लगाउनु नपर्ने बताएका थिए । बोल्सोनारोले सुरूदेखि नै कोरोनाभाइरससँग खेलाँची गर्दै आएका छन् । उनले सुरूमा कोरोना सामान्य फ्लु भएको बताएका थिए भने पछि आफूले भ्याक्सिन नलगाउने भनेका थिए ।

ब्राजिल अमेरिकापछि संसारमै कोरोनाबाट धेरै मानिसको मृत्यु हुने मुलुक हो । त्यहाँ अहिलेसम्म ४ लाख ५९ हजार मानिसको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । शनिबारमात्रै ब्राजिलमा ७८ हजार नयाँ संक्रमित थपिएका थिए भने दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए । राष्ट्रपति बोल्सोनारोले मास्क बिनाको ¥याली निकालेपछि उनलाई जरिवाना तिराइएको छ । साओ पाउलो प्रान्तीय सरकारले उनलाई १०८ अमेरिकी डलर बराबरको जरिवाना गरिएको जनाएको छ । ब्राजिलमा अर्को वर्ष राष्ट्रपतिका लागि चुनाव हुँदैछ। सेनाका पूर्व क्याप्टेन बोल्सोनारो दोस्रो कार्यकालका लागि चुनाव लड्दैछन् । भ्रष्टाचारलाई अन्त्य गर्ने लोकप्रिय नारा दिएर बोल्सोनारो २०१८ मा राष्ट्रपति चुनिएका थिए । पछिल्लो समय उनको लोकप्रियता निकै खस्किएको सर्वेक्षणहरूले देखाएका छन् । -एजेन्सी