धरानः सुनसरीको धरानमा पोजिटिभ समुह धरानले शनिबार एचआईभी संक्रमित तथा प्रभावित २५ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

समुहले एचआईभी संंक्रमित तथा प्रभावित बालाबालिकाको शिक्षाको लागि हातेमालो अक्षयकोषबाट आएको ब्याज रकमले खाद्यान्न सहयोग गरेका हुन् । समुहले ५७ हजार रुपैयाँ बराबरको प्रति परिवार २५ केजी चामल, एक लिटर तेल, एक केजी सोयाबिन, एक केजी चिनी, दाल, चना र हात धुने साबुन सहयोग गरेका छन् । बालबालिकाको शैक्षिक क्षेत्रमा सहयोग गर्नको लागि अक्षय कोष स्थापना भए पनि कोरोना भाइरसको कारण शैक्षिक क्षेत्र बन्द भएकाले विपन्न परिवारहरुलाई खाद्यान्न प्रदान गरिएको पोजिटिभ समुहका अध्यक्ष तथा राष्ट्रिय एचआईभी एड्स संस्थाका केन्द्रीय कोषाध्यक्ष खगेन्द्र खड्काले जानकारी गराए ।

शैक्षिक क्षेत्र खुला भएपछि बालबालिकाको शिक्षामा नै रकम खर्च गरिने खड्काले बताए । यो महामारी र लकडाउनको समयमा धरान पोजिटिभ समुहले गरेको कार्य प्रशंसनीय रहेको नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईले मन्तव्यको क्रममा बताए । अध्यक्ष राईले सहयोगलाई खाद्यान्न मात्र नसम्झिन आग्रह गर्दै यो संस्थाप्रतिको माया एवम् अभिभावकत्वसमेत रहेको बताए । धरान रन संस्था र धरान पोजिटिभ समुहको सहकार्यमा पाँच वर्षअघि दुई लाख रुपैयाँबाट स्थापना गरिएको अक्षय कोषमा हाल ६ लाख रुपैयाँ रहेको छ । अक्षय कोष रकम संकलनका लागि धरानका पत्रकारहरुले भानुचौकमा च्यारिटि रिक्सासमेत कुदाएका थिए । संस्थाले हरेक ६ महिनामा कोषबाट आएको ब्याज रकमले एचआईभी संक्रमित तथा प्रभावित बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै आइरहेको थियो ।

गत सालदेखि कोरोना महामारीले गर्दा लकडाउन भएसँगै शैक्षिक क्षेत्र पनि बन्द भएपछि भने संस्थाले आएको ब्याज रकमले खाद्यान्न प्रदान गर्दै आइरहेको छ । खाद्यान्न सहयोग धरान रनका अध्यक्ष रोमु राईलगायत संस्थाका अन्य पदाधिकारीहरुको उपस्थितिमा वितरण गरिएको थियो ।