कोरोना महामारीको तेस्रो ÷ चौथो छालले बालबालिकालाई जोखिम हुन्छ भनेर अस्पष्ट जानकारीको कारण आम अभिभावकमा चिन्ता छाएको छ। धेरैजना महानुभावले यो विषयमा जानकारी दिन आग्रह गर्नुभएकोले विज्ञान, ज्ञान र प्रज्ञानको आधारमा निम्न कारण र समाधान उल्लेख गरेको छु ।
.
१. विकसित देशहरुले आफ्ना अधिकांश नागरिकलाई खोप दिएका ÷ दिइरहेका छन् ्र बालबालिकाको लागि खोप ( फाइजरले १२ बर्षमाथिका बालबालिकालाई केहि देशमा दिइरहेको छ ) अझै क्लिनिकल ट्रायलमा रहेको तथा हरेक देशमा ठूलो संख्यामा रहेका बालबालिका खोपबाट बञ्चित भएको हुँदा आगामी महामारी बालबालिकाको लागि घातक हुनसक्ने अनुमान गरिएको छ । नेपाल, भारत लगायत देशका सीमित नागरिकले मात्र खोप लगाएको अवस्थामा जोखिम अवस्था बालबालिका मात्र नभएर खोप नलगाएका सबै वर्ग जोखिममा रहेका छौँ । अधिकांश नागरिकले खोप लगाएका देशमा गरेको अध्ययनलाई अनुवाद गरेर बालबालिकालाई जोखिम भन्नु हाम्रो सन्दर्भमा अपूरो विश्लेषण हो । खोप नलगाएका सबै जोखिममा छौं भन्नु सान्दर्भिक विश्लेषण हो ।

२.अन्य उमेर समुहको तुलनामा बालबालिका कम संक्रमित भएका छन् । यसको अर्थ उनीहरुमा संक्रमणबाट प्राप्त एन्टिबोडी निकै थोरै प्रतिशतमा छ । लकडाउन तथा अनलाइन पढाइको कारण अधिकांश बालबालिका घरभित्र रहेको अवस्था छ । तसर्थ उनीहरु अन्य उमेरको तुलनामा संक्रमणसँग कम एक्स्पोज भएका छन् । ३. स्कुल ÷ कलेज सञ्चालन भएपछि बालबालिका ठूलो समुहमा लामो समयसम्म बस्नुपर्ने तथा उनीहरुले सहि तरिकाले मास्क, दुरी र हातको सफाइ गर्ने काममा ठूलो उमेरका व्यक्तिजस्तो जिम्मेवार हुन गाह्रो हुने भएकोले बालबालिका हरेक लहरमा जोखिममा हुन्छन् नै ।
.
यी जोखिमका बाबजुद पनि समाधानका प्रयास भइरहेका छन्ः
.
१. फाइजरले १२ वर्षमाथिका बालबालिकालाई अमेरिकालगायत देशमा खोप दिइरहेको छ । केही महिनापछि २ वर्षमाथिका बालबालिकाको लागि पनि खोप विकास हुने बताएको छ। त्यस्तै एस्ट्रेजेनेका, चीनका खोप उत्पादकहरु तथा भारतको बायोटेकले पनि २ वर्षमाथिका बालबालिकामा तेस्रो चरण अर्थात् अन्तिम चरणको क्लिनिकल ट्रायल गरिरहेको छ । नेपालले पनि खोप उत्पादक देश, कोभ्याक्स, गाभी, युनिसेफ आदि संस्थाबाट बालबालिकाको लागि खोप सुनिश्चित गर्नुपर्दछ ।

२. भारतले डिसेम्बरसम्म ६० करोड भारतीयलाई खोप दिने लक्ष्य राखेको छ । त्यस्तै अन्य देशले पनि अभियानकै रुपमा खोप कार्यक्रम अघिं बढाइरहेका छन् । संक्रमण आउने मुहान सुक्न लाग्नु भनेको हामी पनि सुरक्षित हुनु हो ।

३. नेपालले पनि विभिन्न खोप उत्पादक देश, कम्पनी, कोभ्याक्सलगायत सहयोगी राष्ट्रसँग खोपको लबिङ गरिरहेको छ । डेनमार्क, बेलायत, अमेरिका, भारत, चीन, रुसलगायत राष्ट्रबाट खोप आउने आशाका किरण देखा परेका छन् । जति धेरै नेपालीले खोप लगाउछौं, त्यति धेरै बालबालिका सुरक्षित हुन्छन् ।

४. दोस्रो लहरले नेपाललाई ठूलो पाठ सिकाएको छ । त्यो कालो एक महिनाले हामीलाई थिलोथिलो गरेको थियो । अहिले अस्पतालका बेड, अक्सिजन, आइसीयु तथा भेन्टिलेटरको संख्या एवम अनुभवी स्वास्थ्यकर्मीको कारण हाम्रो स्वास्थ्य प्रणाली पहिलेभन्दा बलियो भएको छ । आगामी लहरको लागि पहिलेको तुलनामा धेरै सहज स्थिति छ । स्वदेशका अक्सिजन प्लान्टले उल्लेख्य मात्रामा अक्सिजन उत्पादन गरिरहेका छन् । विदेशबाट अक्सिजन प्लान्टको लागि धेरै सहयोग आइरहेको छ । १०० बेडभन्दा माथिका अस्पतालमा अनिवार्य आफ्नै अक्सिजन प्लान्ट हुनुपर्ने सरकारी नीति छ ।

५. स्वास्थ्य मन्त्रालयले सबै अस्पतालमा २० प्रतिशत अनिवार्य रुपमा बालबालिकाको लागि कोभिड बेड ( अक्सिजन बेड, आइसीयु आदि ) निर्माण÷रुपान्तरण गर्न निर्देशन दिएको छ । हाललाई २० प्रतिशत बेड हरेक अस्पतालमा तयारी अवस्थामा राख्दा भद्रगोल अवस्था आउँदैन ।

६. आम नागरिक पनि सचेत भएकोले बालबालिकालाई घरबाहिर जान नदिने, मास्क÷दूरी÷सफाइबारे सचेत भएको तथा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि घरेलु खानामा अभ्यस्त भएको कारण आत्तिनुपर्ने अवस्था हुँदैन ।

७. भारतमा भएका अनुसन्धानले देखाएका छन् कि दोस्रो लहर बढी घातक हुनुमा प्रदुषण पनि जिम्मेवार छ । हाल लकडाउनको कारण हामी सबैले राम्रो सास फेर्न पाएका छौं । सरकारले लकडाउन खोल्ने तयारी गर्दा प्रदूषण कसरी घटाउनेबारे वैज्ञानिक अध्ययन गरेर कार्यान्वयन गर्नुपर्दछ । हरिया पहाडमा डोजर चलाउने वा प्लटिंग गर्ने कार्यलाई बन्द गराउनु पर्दछ । हरेक बस्ति, टोल, सडकको दायाँबायाँ अभियानकै रुपमा वृक्षारोपण गर्ने एवम् ती वृक्षलाई सुरक्षित गर्ने काम तदारुकताका साथ गर्नु जरुरी छ । रुख काट्ने कामलाई अन्य देशमा जस्तै ठूलो इस्यु बनाउनु पर्दछ । बीसौंँ वर्ष लगाएर हुर्केका रुखलाई विकासको नाममा काट्नु एक किसिमको पर्यावरणीय अपराध हो । स्वच्छ वातावरणले हाम्रो फोक्सो स्वस्थ हुन्छ ।

८. बालबालिकालाई जडिबुटि, योग, ध्यान तथा स्वस्थ जीवनशैलीबारे तालिमप्राप्त बनाउनु जरुरी छ । बालबालिकाको दिनचर्या, रात्रिचर्या, ऋतुचर्या, पोषण ज्ञान, मानसिक सबलता, शारीरिक तन्दुरुस्तीबारे अभिभावक जानकार हुनु जरुरी छ । बालबालिकाको लागि आफ्नो आमाभन्दा ठूलो विज्ञ कोही हुँदैन । तसर्थ अभिभावकलाई बच्चाको स्वास्थ्य, तालिका अनुसारका खोप, अर्गानिक खाना आदिबारे विस्तृत जानकारी दिने कार्यक्रम ल्याउनुपर्छ । पत्रु खाना तथा इन्टरनेट एडिक्सनबाट बचाउने वातावरण निर्माण गर्नुपर्दछ ।
स्वस्थ बालबालिकाबिना समृद्ध राष्ट्रको कल्पना गर्न सकिँदैन । बालबालिका राष्ट्रका भविष्य हुन् । भविष्यको लागि राज्य तथा परिवारले गरेको लगानीले स्वस्थ समाज र समुन्नत राष्ट्रको ढोका खोल्ने तथ्य हामीले बिर्सिनुहुँदैन ।