इटहरीः इटहरी उपमहानगरपालिकाले सञ्ंचालन गरेको आइसोलेसनमा ८७ जना संक्रमित भर्ना भएका छन् ।
गत वैशाख ३० गतेबाट विधिवत् रुपमा सुरुवात भएको यो आइसोलेसनमा एक महिनाको अवधिमा ८७ जना संक्रमित भर्ना भएको आइसोलेसन केन्द्रका इन्चार्ज शिवकुमार झाले जानकारी दिए । जसमध्ये ५३ जना पूरुष र ३४ जना महिला रहेका उनले जानकारी दिए । भर्ना भएका संक्रमितमध्ये २७ जना पूरुष र १९ जना महिला गरी जम्मा ४६ जना पूर्ण रुपमा कोरोना जितेर घर फर्किएका झाले बताएका छन् । आइसोलेसनमा भर्ना भएका मध्ये अहिलेसम्म कसैको मृत्यु नभएको उनले बताए । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल भएर आइसोलेसनबाट प्रदेश १ का विभिन्न अस्पतालमा २१ जना संक्रमितलाई रेफर गरिएको छ । रेफर गरिएकामा १२ जना पूरुष र ९ जना महिला रहेका छन् । उनीहरुमध्ये केही निको भएर घर फर्किएका र केहीको कोभिड विशेष अस्पतालमा उपचार भइरहेको झाले जानकारी दिएका छन् ।
अहिले यहाँ सक्रिय संक्रमितको संख्या २० रहेको छ । तीमध्ये १३ जना पूरुष र ७ जना महिला रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेकोसमेत झाले जानकारी दिएका छन् । आइसोलेसनमा अक्सिजनजडित बेडसहित कोभिड विशेष अस्पताल पनि सञ्चालन गरिएको छ । जहाँ उपमहानगरपालिकाले सञ्चालन गरेको आइसोलेसन र होम आइसालेसनमा रहेर अवस्था जटिल बन्दै गएका संक्रमितको उपचार गरिँदै आएको झाले बताए । कोभिड विशेष अस्पतालमा लगिएका मध्ये केही अवस्था सुधार भएर सम्बन्धित आइसोलेसनमा फर्किएका र केहीलाई विभिन्न अस्पतालमा रेफर गरिएको झाको भनाइ छ । नयाँ कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउन र आइसोलेसनमा रहेका संक्रमितलाई अस्पतालसम्म पूर्याउन उपमहानगरले एउटा एम्बुलेन्स आइसोलेसन सेन्टरमा २४सै घण्टा तैनाथ गरेको छ ।