४३ वर्षीय एक महिलाले आफूले अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको दोस्रो डोज लगाएपछि बोल्न नसकेको दाबी गरेकी छिन् ।

क्याम्ब्रिजसायरको भिस्बेचकी सोफिया गोम्सले १९ मेमा खोप लगाएपछि गम्भीर एलर्जी प्रतिक्रिया भएको हुनाले खोप लगाएको केही घण्टापछि आफ्नो आवाज गुमेको दाबी गरेकी हुन् । खोप लगाएपछि अनौठो प्रतिक्रिया देखापरेका कारण उनी नोर्फोकको किङ अस्पताल गएकी थिइन् । त्यहाँका डाक्टरहरूले उनको घाँटीमा स्क्यान गरे पनि केही समस्या भेटाएका थिएनन् । एक हप्तासम्म अस्पतालको बसाइका क्रममा उनलाई धेरै विशेषज्ञले हरेका थिए तर उनको अवस्थाका बारेमा केही भन्न नसकेपछि गोम्सले खोपका कारण आफू बोल्न नसकेको बताएकी हुन् । तर, एडिनबर्ग विश्वविद्यालयका एक प्राध्यापकले उनको आवाज गुम्नु संयोग मात्र रहेको बताएका छन् ।

युके ड्रग रेगुलेटरको औषधि र स्वास्थ्य सेवाहरू नियामक एजेन्सी (एमएचआरए)का अनुसर उक्त महिलाको आवाज गुम्नु खोपसँग जोडिएको कुनै प्रमाण छैन । बोल्न नसक्नु वा आवाज गुमाउनु अक्सफोर्ड खोपको साइड इफेक्ट होइन र यस्ता समस्या खोपसँग सम्बन्धित भएको कुनै प्रमाण नभएको एक प्रवक्ताले बताएका छन् । हरेक प्रतिक्रिया खोपका कारणले गर्दा नभएको हुनसक्छ । स्वास्थ्यमा समस्या भएका, रोग लागेका वा पहिचान हुन नसकेका रोगका एक कारणले पनि हुनसक्छ । सोफियालाई भने कुनै पनि स्वास्थ्य समस्या नभएको बताइएको छ । सोफियाले खोपको पहिलो डोज १ मार्चमा लिएकी थिइन् । सोही समयमा उनलाई उच्च ज्वरो आएको, खुट्टा दुखेको थियो । खोप लगाएको हात वा ठाउँ दुख्ने, टाउको दुखाइ, मांसपेशी दुख्ने र थकान खोप लगाएपछि देखिने सामान्य साइड इफेक्ट हुन् । खोपलाई प्लेटलेट स्तर कम हुने र रगत जम्ने जोखिमसँग पनि जोडिएको छ । -डेलीमेलबाट