इटहरीः झापाको कन्काई नगरपालिका ३ स्थित नेवारगाउँ घर भएकी २८ वर्षीया कृष्णा श्रेष्ठलाई म्यानपावर व्यवसायीले साइप्रसमा अलपत्र पारेका छन् ।

काठमाडौँको सामाखुसीस्थित ओमश्री महाशक्ति इम्प्लोयमेन्ट प्रा.लि. का सञ्चालिका राधा बुढाथोकी र निर्देशक हिरालाल गधेलले साइप्रस पुर्याएकोमा पीडित श्रेष्ठलाई गत चैत २६ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साइप्रस पठाएकोमा श्रेष्ठलाई कुनै काम नदिइएपछि उनी अलपत्र परेकी हुन् । साइप्रस पठाएबापत म्यानपावर सञ्चालक र निर्देशकद्वय बुढाथोकी र गधेलले पीडित युवतिसँग चार लाख पचास हजार रुपैयाँ असुलेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए । उनका अनुसार म्यानपावर सञ्चालक र निर्देशकद्वयले श्रेष्ठलाई ललाई फकाई तीन वर्षीया छोरीलाई छोडेर विदेश जान बाध्य पारेका थिए ।

पीडित युवतिलाई साइप्रस प्रहरीमार्फत् खोजी गरी नेपाली दूतावासको जिम्मा लगाई स्वदेश फिर्ता गराइदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र वैदेशिक रोजगार विभागको कार्यालयलाई पत्राचार गरिएको सञ्जेलले जानकारी दिए । यसैबीच, खाडी मुलुकहरुमा रहेका नेपाली दूतावासहरुमा पीडितको उद्दारका लागि आफूले पत्राचार गर्दा सो पत्र सम्बन्धित दूतावासले नबुझेका कारण फिर्ता आइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै सञ्जेलले नागरिकको उद्दारमा चासो नदिने राजदूतहरुलाई फिर्ता बोलाउन पनि सोही पत्रमार्फत् प्रधानमन्त्री कार्यालयलाई अनुरोध गरेका छन् ।

manchhe bepatta.