कोरोना भाइरसविरुद्ध खोपको दोस्रो डोज लिने समय धेरै बढेमा सङ्क्रमणको जोखिम पनि बढ्ने हुन्छ ।
अमेरिकाका शीर्ष स्वास्थ्य विशेषज्ञ डा. एन्थोनी फाउचीले खोपको दुई डोजबीच समय अन्तराल धेरै बढेमा कोरोनाको भेरियन्टबाट सङ्क्रमण हुने जोखिम बढाउने बताएका हुन् । भारतीय टिभी च्यानल एनडिटिभीलाई दिएको एक अन्तर्वार्तामा डा. फाउचीले बताएअनुसार कोरोना भाइरसविरुद्धको एमआरएनए खोपको दुई डोजबीचको समय अन्तराल तीनदेखि चार हप्ता हुनुपर्छ ।
खोपको दुई डोजबीचको अन्तराल बढेमा यसले कोरोना भाइरसका विभिन्न भेरियन्टमध्ये एकबाट सङ्क्रमित हुने जोखिम बढ्ने उनको भनाइ छ । बेलायतमा खोपको दुई डोजबीचको समय अन्तर बढाएपछि नयाँ भेरियन्टको जोखिम बढेको उनले बताए । खोप तोकिएकै समयमै लगाउनुपर्ने उनले आग्रह गरेका छन् ।
खोपको आपूर्ति ढिलो भए खोपको दुई डोजबीचको अन्तर बढाउन आवश्यक हुने पनि बताएका छन् । डाक्टर फाउचीका अनुसार कोरोना भाइरसको नयाँ भेरियन्टबाट बच्नका लागि खोप लिन आवश्यक हुन्छ । उनले भारतमा पहिलो पटक फेला परेको कोरोनाको डेल्टा भेरियन्टको बारेमा चिन्ता व्यक्त गर्दै डेल्टा भेरियन्ट खोप नलिएका व्यक्तिमा तीव्र रूपमा फैलिने बताएका छन् । -बीबीसीबाट