इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका २० स्थित तरहरामा एक दम्पत्ति सोही स्थानमा रहेको खर्साला खोलामा मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्नेहरुमा उदयपुरको रौता गाउँपालिका ३ मजौ घर भई हाल तरहरामा डेरा गरी बस्ने २५ वर्षीय हेमशेर राई र उनकी श्रीमति २२ वर्षीया शर्मिला राई रहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रवक्ता प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए । उनका अनुसार मृतकद्वय दुई वर्षयता स्थानीय रोयल फर्निचरमा काठ मिस्त्रिका रुपमा कार्यरत थिए । खोलामा हेमशेरको शव उत्तर र शर्मिलाको शव दक्षिणतर्फ फेला परेको बताउँदै प्रनि कट्वालले शवको पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए ।

करेन्ट लगाएर माछा मार्ने क्रममा दुवैको ज्यान गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।