उदयपुरः महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि चालिका कदमले उदयपुरमा केही हदसम्म सफलता प्राप्त गरिरहेको छ ।

पछिल्लो समय कोरोना सङ्क्रमण घट्दै गएपछि महामारी नियन्त्रणमा सफलता मिलिरहेको हो । उदयपुरमा वैशाखको तेस्रो साताबाट कोरोना तिव्र रूपमा फैलिएको थियो । जेठको अन्तिम हप्तासम्म आइपुग्दा महामारी नियन्त्रणमा केही सफलता मिलेसँगै उदयपुरको अवस्था सामान्यतर्फ उन्मुख भएको छ । उदयपुर जिल्लाको अवस्था सुधार हुँदै गएको हो । स्वास्थ्य कार्यलय उदयपुरका अनुसार जेठको अन्तिम हप्ताबाट जिल्लामा कोरोना सङ्क्रमणमा निकै कमी आएको छ । बढी सङ्क्रमित भएको त्रियुगा नगरपालिकामा जेठको अन्तिम हप्तामा आएर पाँच सय ३५ बाट सङ्क्रमितहरु घटेर दुई सय ९० मा झरेको स्वास्थ्य कार्यालय उदयपुरले बताएको छ ।

कटारी नगरपालिकामा एक सय १७ जना पुगेकोमा सङ्क्रमित घटेर ४५ जनामा झरेको छ । रौतामाई गाउँपालिकामा ७६ जना रहेकोमा घटेर २९ जना र लिम्चुङबुङ गाउँपालिमा ६४ जनाबाट सङ्क्रमित घटेर हाल २४ जनामा झरेको छ । त्यस्तै अन्य स्थानीय निकायमा पनि कमी आएको छ । जिल्लाको आठै पालिकामा कोरोना सङ्क्रमणका दर घटेर निको हुनेहरुको सङख्यामा पनि वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए । कोरोनाबाट उदयपुरमा हालसम्म ४७ जनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमणको अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यलय उदयपुरले जिल्लामा निषेधाज्ञाको समय जेठ २८ बाट बढाएर असार ७ सम्म थपेको छ । थप गरिएको निषेधाज्ञामा बिहानको ७ बजेदेखि दिनको १२ बजे सम्म पसलहरु खोल्न दिइने छ । -रासस