इटहरीः सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ८ स्थित सेतोमाने भन्ने स्थानमा जेसीबी क्रेन बोकेर सोलुखुम्बुबाट पोखरा जादै गरेको ग १ क ५१७३ नम्बरको ट्रकमा रोडमाथि टाँगिएको विद्युतको तारमा जेसीबीले छुइन गई करेन्ट लाग्दा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्रक चालक बाग्लुङ बडीगंगा गाउँपालिका ५ का २६ बर्षीय भुमिराज मरासैनी र सोही ट्रकमा सवार जेसीबी चालक स्याङजा का २३ वर्षीय राम परीयार रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घाइतेहरुमा ट्रकका सहचालक बाग्लुङ मालिटा गाउँपालिका ८ का १९ वर्षीय वसन्त पौडेल र राम परियारकी श्रीमती २० वर्षीया लिला परियार रहेका छन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी नायबउपरीक्षकको कमाण्डमा र प्रहरी चौकी पतालेबाट प्रहरी टोली खटी गई घाइतेहरुलाई उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल फाप्लु सोलुखुम्बुमा पठाइएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।