झापाः झापाको मेचीनगरका हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारले सरकारले दिने भनेको काजकिरियावापतको २५ हजार रुपैयाँ पाएका छैनन् ।

जङ्ली हात्तीको आक्रमणबाट मृत्यु भएका स्थानीय ६५ वर्षीय श्याम राईको परिवारले २३ दिन बितिसक्दासमेत काजकिरियावापतको खर्च पाएका छैनन् । मेचीनगर–९ स्थित सुकुम्बासी बस्तीका राईको गत जेठ ४ गते राति हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । घटनालगत्तै नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती र वडा नम्बर ९ का वडाध्यक्ष गोपाल खड्का घरमै पुगेर तत्काल काजकिरिया खर्च उपलब्ध गराउने आश्वासन दिएको मृतकका माइला छोरा किरणले बताए । यद्यपि घटना भएको २३ दिन बितिसक्दासमेत मृतकका परिवारले नगरपालिकाबाट कुनै राहत पाएको छैन । ‘दिन्छु भनेपछि दिनैपिच्छे वडा कार्यालय र नगरपालिकामा धाइरहेका छौँ,’ मृतककी जेठी बुहारी सुविना विश्वकर्माले भनिन्, ‘अहिलेसम्म पाएका छैनौँ ।’

ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको राई परिवारको मागुरमाडी सामुदायिक वन बिट नं १ को छेउमा २२ वर्षदेखि बसोबास गर्दै आए पनि जग्गाको धनीपुर्जा अझसम्म बनेको छैन । मृतक राईका पत्नी जुनबिरा, चार छोरा र एक छोरी छन् । मेचीनगरका प्रमुख आचार्यले अझैसम्म मृतकका परिवारले काजकिरिया खर्च नपाएकोमा अनभिज्ञता प्रकट गरे । ‘उहाँहरुले तुरुन्तै पाउनु पर्ने हो, दिनु पनि भनेको हो,’ उनले भने, ‘के भएको रहेछ बुझेर तुरुन्त उपलब्ध गराउँछौँ ।’ स्थानीय नवकिरण टोल विकास संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेलले काजकिरिया खर्च मृत्यु भएको १३ दिनभित्रै पीडित परिवारले पाउनु पर्नेमा नगरपालिका र वडा कार्यालयबाट ढिलासुस्ती गरिएकोमा गुनासो व्यक्त गरे । काजकिरिया खर्चवापत नगरपालिकाले २५ हजार र डिभिजन वन कार्यालय झापाले ५० हजार दिने व्यवस्था रहेको छ । यसका लागि मृतकका परिवारले बैङ्कमा खाता खोलिसकेको छ । -रासस