धरानः गोर्खा वेलफेयर ट्रस्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरलाई नौ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
धरान १९ स्थित हरियाली सामुदायिक भवनको आवासगृह परिसरमा एक कार्यक्रमको आयोजना गर्दै गोर्खा वेलफेयर ट्रस्ट नेपालले आज (बुधबार) ९ लाख २८ हजार रुपैयाँ बराबरको स्वास्थ्य सामग्री धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई हस्तान्तरण गरेका गरेको हो । एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख अधिकृत पूर्णप्रसाद लिम्बूका अनुसार आइसोलेसन सेन्टरलाई तीन थान अक्सिजन कनेक्टरका साथै पल्स अक्सिमिटर २० थान र पीपीई सेट दुई सय थान सहयोग प्रदान गरिएको छ । प्रमुख अधिकृत लिम्बुले आवश्यक परेको खण्डमा आइसोलेसन सेन्टरलाई थप सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश १ को २२ स्थानमा गोर्खा वेल्फेयरले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । मेयर तिलक राईले स्वास्थ्य सामग्री ग्रहण गर्दै गोर्खा वेल्फेयरको प्रशंसा गरे । मेयर राईले गोर्खा भूतपूर्व सैनिकको सेवा, आश्रित परिवार र गोर्खा भूतपूर्वहरुको बसोबास रहेको क्षेत्रमा गोर्खा वेल्फेयरले विभिन्न मानवीय सेवाहरु गरिरहेको बताए ।
धरान आफैँमा गोर्खा भूपूहरुको अत्यन्तै बाक्लो बस्ति भएको बताउदै मेयर राईले भने, “गोर्खा वेल्फेयर ट्रस्टले विपदको बेलामा, खानेपानी, शिक्षा लगायत विभिन्न क्षेत्रहरुमा सहयोग गरिरहेको छ ।” धरान उपमहानगरपालिकालाई यसभन्दा अघि कोभिड १९ को पहिलो लहरमा पनि गोर्खा वेल्फेयरले सहयोग गरेको थियो । कोभिड १९ को दास्रो लहरमा पनि अत्यन्तै महत्वपूर्ण स्वास्थ्य सामग्री सहयोग गरेको भन्दै गोर्खा वेल्फेयर ट्रस्टलाई मेयर राईले धन्यवाद व्यक्त गरे । मेयर राईले डेडबढी व्यवस्थापनका लागि नेपाल आर्मी र स्काउट नेपालसँग समन्वय गरिरहेको जानकारी दिए । साथै, मेयर राईले आइसोलेसनमा बसेका संक्रमित बिरामीहरुको पनि स्वास्थ्य अवस्था बुझेका थिए । हरियाली आइसोलेसन सेन्टरमा खटिएकी स्वास्थ्यकर्मी दीपकला राईले सेन्टरमा १२ जना कोरोना संक्रमित बिरामीहरु बसिरहेको जानकारी दिए । उनले भने, “आइसोलेसन सेन्टरमा १४ जना संक्रमित बस्नुभएको थियो । २ जना ठीक भएर डिस्चार्ज भयो । अहिले १२ जना हुनुहुन्छ । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ ।”