पाँचथरः पाँचथरका स्थानीय तहहरूलाई पाँचथर समाज काठमाडौँले स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
समाजमा सदस्य तथा दाताबाट प्राप्त सहयोग रकमबाट १३ लाख २६ हजार पाँच सय मूल्य बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो । समाजले जिल्लाका आठ वटै स्थानीय तहहरूलाई अक्सिजन कन्सन्ट्रेटर, एन्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री उपलब्ध गराएको हो । फिदिममा आयोजित कार्यक्रममा समाजका सचिव एवम् स्वास्थ्य सामग्री वितरण समितिका संयोजक भूमिका सुब्बाले प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक पुण्यप्रसाद ढकालमार्फत स्थानीय तहहरूलाई ती सामग्री हस्तान्तरण गरेकी हुन् । समाजले जिल्लाका सात वटा गाउँपालिकाहरूलाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको छ ।
समाजले एन्टिजेन किट सबै गाउँपालिकालाई ५० थानका दरले र फिदिम नगरपालिकालाई ३०० थान उपलब्ध गराएको छ भने सबै स्थानीय तहहरूलाई १५०० थानका दरले मास्क उपलब्ध गराइएको सुब्बाले जानकारी दिइन् । यस्तै समाजले जिल्लाका ६० वटै वडालाई पल्स अक्सिमिटर उपलब्ध गराएको छ । यस्तै डिस्पोजेवल र रियुजेवल पिपिई ५० वटाका दरले उपलब्ध गराइएको सुब्बाले बताइन् । हालसम्म विभिन्न निकायबाट कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा उपचारात्मक व्यवस्था फिदिम केन्द्रित भएको तर पछिल्लो समय ग्रामीण क्षेत्रमा बढ्दो सङ्क्रमणसँग जुध्न स्थानीय तहमा समेत थप तयारी आवश्यक देखिएकाले स्थानीय तह र सुरक्षा निकायलाई केन्द्रित गरेर सहयोग गरिएको उनको भनाइ छ । समाजले काठमाडौँमा रहेका कमजोर आर्थिक अवस्थाका पाँचथरेली, उपचाररत, मृतकका परिवार तथा होम आइसोलेसनमा रहेकालाई पाँच हजारदेखि २० हजार रुपैयाँसम्म उपलब्ध गराउने योजना गराउन थालेको छ । समाजले हालसम्म ३६ घर परिवारलाई राहत रकम हस्तान्तरण गरिसकेको सुब्बाले जानकारी दिइन् । -रासस