इटहरीः पाँचथरको फिदिम नगरपालिका ४ मा पतिको किरिया बसेका बखत ग्यास लिक भई आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ ।
मृत्यु हुनेमा सोही ठाउँ घर भएकी ७२ वर्षीया चनमाया सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक डम्बरबहादुर विश्वकर्माले जानकारी दिए । उनका अनुसार पति भगीरथको घरमै निधन भएकोमा किरिया बसेका बखत पानी तताउने क्रममा ग्यास लिक भई सोमबार राति आगलागी हुँदा चनमायासहित उनका छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदनसमेत घाइते भएका थिए ।
उनीहरुलाई उपचारार्थ जिल्ला अस्पताल पाँचथर लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि झापाको मेचि अस्पताल लगिएकोमा चनमायाको भने आज बिहान १ः३० बजे उपचारका क्रममा ज्यान गएको प्रहरी निरीक्षक विश्वकर्माको भनाइ छ । घाइते छोराहरुको भने मेचि अस्पतालमै उपचार जारी रहेको प्रहरीले जनाएको छ ।