धरानः सुनसरीको धरान १५ स्थित बाझगरा प्रहरी चौकी भित्र प्रहरीमाथिनै धारिलो हतियार प्रहार गरी फरार समूहको खोजीमा खटिएको प्रहरी टोलीले आक्रमणमा संलग्नमध्ये मुख्य नाइके रेगन लिम्बू र वसन्त राई धनकुटास्थित छथर जोरपाटी गाउँपालिकाको ३ नं. वडामा पर्ने बन्चरे भन्ने ठाउँमा लुकिछिपी बसेको पत्ता लगाउँछ । आक्रमणमा संलग्न १० मध्ये तीन जना पक्राउ परेपनि बाँकी सात जनाको खोजतलासमा खटिएको जिल्ला प्रहरी कार्यालय सुनसरी, इलाका प्रहरी कार्यालय धरान र प्रदेश प्रहरीको ‘रिट’ समूहबाट १२ जना टिम बन्चरेतर्फ लाग्छ ।
घटना भएको १२ दिनदेखि लगातार अप्रेसनमा खटिएको यो टोली भोक निन्द्रा नभनी २२ गते शनिबार कर्मी डाँडाबाट बन्चरे झर्छन् । बन्चरेको एक बस्तिमा उनीहरू दुई दिनदेखि गाउँलेलाई धम्काउँदै बसेको प्रहरीसँग सूचना हुन्छ । सोही आधारमा उनीहरूलाई खोज्न रातको ९ बजे हिँडेर बिहानको २ बजे प्रहरीको संयुक्त टोली घेरा हाल्दै बन्चरे पुग्छ । सोतोको धना जगंल हुँदै प्रहरीले बन्चरेका केही घरमा छापा मार्छ । प्रहरीले उनीहरू लुकेको घर र प्रयोग भएको सिरक डस्ना पहिचान गर्छ । त्यहाँबाट दुवै जना राति नै फरार भएका हुन्छन् । प्रहरीको संयुक्त टोली थप उनीहरूको खोजीमा परिचालित हुन्छ ।
बन्चरे भन्ने स्थानमा निकै पातलो बस्ति भएका कारण पनि उनीहरू जङ्गलमै लुकेको आशङ्कामा खोजतलास गर्छन् । लगातारको अप्रेसनले थकित प्रहरी आराम गदै चाउचाउ र बिस्कुटले भोक मेट्दै तेह्रथुमको शुक्रबारे बजारसम्म पुग्छन् । बन्चरे र कर्मी डाँडालाई आधार बनाएर जिल्ला प्रहरी कार्यालय धनकुटाको थप प्रहरीको सहयोग लिई घेरा हाल्दै खोज्ने काम हुन्छ । दुई दिनदेखिको भोकले पनि उनीहरू बाहिर निस्कने सक्ने अनुमानले प्रहरी बस्ति तथा बजारमा समेत परिचालित भएको हुन्छ । सोमबार साँझ सर्चमा खटिएको प्रहरी टोलीलाई उनीहरू एक गोठमा लुकेको सूचना प्राप्त हुन्छ । पछ्याउँदै जाँदा निकै नजिक पुगेको टोलीभन्दा अगाडि धनकुटा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन्छ । तर धनकुटा प्रहरीले भने उनीहरूले आफन्तको समन्वयमा आत्मसमर्पण गरेको बताएको छ ।
इन्काउन्टरको डर
पक्राउ परेका नाइके रेगन लिम्बू र वसन्त राईको अवस्था र हुलिया हेर्दा उनीहरू प्रहरीबाट बच्न प्राय जङ्गलमै रात कटाउने गरेको प्रहरी स्रोत बताउँछ । उनीहरू भोकले निकै ग्रसित थिए भने उनीहरूमा प्रहरी इन्काउन्टर हुने हो कि भन्ने त्रासमा थिए । तर अप्रेसनमा खटिएको प्रहरीको संयुक्त टोली उनीहरूलाई कम्मरभन्दा मुनि गोली हानेर भएपनि पक्राउ गर्ने रणनीतिमा थिए । प्रहरीमाथि आक्रमण गर्ने यस्ता समूहको मनोबललाई गिराउनकै लागि भए पनि अप्रेसनमा खटिएको संयुक्त टोलीलाई गोली हान्नु भनेर स्पष्ट आदेश दिइएको प्रहरी स्रोत बताउँछ । अहिले प्रहरी नियन्त्रणमा आएका दुवै जना प्रहरीमाथि खुकुरी चलाउने व्यक्ति थिए र उनीहरूकै उक्साहटमा समूह लिएर चौकीमा आक्रमण भएको थियो’ प्रहरी स्रोत भन्छ ।
प्रहरी असन्तुष्ट
यी दुई जना प्रहरी नियन्त्रणमा आउने विषयमा धनकुटा प्रहरीको भूमिकाप्रति सुनसरी प्रहरी असन्तुष्ट देखिएको छ । घटना सुनसरीमा घटेका कारण पनि खोजतलासमा खटिएको संयुक्त प्रहरीले नै उनीहरूलाई पक्राउ गर्ने अन्तिम अवस्था हुँदाहुँदै धनकुटा प्रहरी आक्रमणकारीको आफन्तको दबाबमा आएर आत्मसमर्पण गराउने वातावरण बनाएको प्रहरी स्रोतको आरोप छ । यो घटना र आक्रमणकारी पक्राउ गर्नु सुनसरी प्रहरीको साखको विषय थियो । प्रहरीमाथि आक्रमण गर्नेलाई सबक सिकाएरै भएपनि पक्राउ गर्ने योजना प्रहरीबाटै ‘मिस’ भएको प्रति सुनसरी प्रहरी असन्तुष्ट भएको हो ।
४ दिनदेखि सुनसरी र प्रदेशको संयुक्त प्रहरी टिम लगातार फिल्डमा खटिरहेको थियो । अन्तिममा आएर प्रहरीका केही व्यक्तिले नै यस्ता अपराधीलाई प्रहरी कार्यालयमा आत्मसमर्पण गराउन सहयोग गरिन्छ भने फिल्डमा खटिने प्रहरीको मोरलको कस्तो होला ?’ प्रहरी स्रोतको प्रश्न छ । धरान प्रहरीमाथि आक्रमण गर्ने नाइके रेगन÷वसन्त राईका आफन्तको दबाबमा धनकुटाका डिएसपी सन्तुलाल जैसवालले आत्मसमर्पणको वातावरण बनाउने काम गरेको आरोप लगाइएको छ । यस विषयमा जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी जैसवाल दुवैलाई पक्राउ नै गरिएको दाबी गर्छन् । तर उनले विभिन्न सञ्चारमाध्यममा दिएको भनाइमा भने आफन्त र जनप्रतिनिधिको साथ प्रहरी कार्यालयमा उपस्थित भएर आत्मसमर्पण गरेको बताएका थिए ।
भिनाजुको मोटरसाइकल प्रयोग
बाझगरास्थित प्रहरी चौकीमा मुख्य रेगन÷वसन्तले नै प्रहरीमाथि खुकुरी र तरबारले आक्रमण गरेका थिए । जसका कारण चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) सुमन दाहालसहित ४ जना प्रहरी घाइते भएका थिए । घटनाको भोलिपल्ट रेगन लिम्बूको पथरीस्थित दिदी भिनाजुको घरमा घटनामा प्रयोग भएको मोटरसाइकल राखी भिनाजुको मोटरसाइकल लिएर दुवै जना धनकुटा पुगेको प्रहरी अनुसन्धानले देखाएको छ । यता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भने बाँकी रहेका ५ आक्रमणकारी केही दिनभित्रै पक्राउ गर्ने बताए । धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा जेठ १३ गते साँझ रेगन÷वसन्त समूहले आक्रमण गरेका थिए । त्यसअघि दुई युवा ज्यान जोगाउन भन्दै प्रहरी चौकीमा छिरेका थिए । तिनै युवाहरूलाई पछ्याउँदै हतियारसहित पुगेको यो समूहले चौकीभित्रै प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए भने भाग्नुअघि तोडफोडसमेत गरेका थिए । उक्त घटनामा १० जना संलग्न रहेको प्रहरीको भनाइ छ । उक्त घटनामा संलग्नमध्येका २४ वर्षीय विक्रम राई, २७ वर्षीय सिजन राई र कालु भन्ने २६ वर्षीय सरोज लिम्बूलाई प्रहरीले पक्राउ गरिसकेको छ ।