धरानः सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार गर्नको लागि प्रभावकारी काम गर्न थुप्रै दबाब समूहहरू गठन भए पनि काम गर्न नसकिरहेको अवस्थामा धरानमा फेरि ‘धरान नागरिक दबाब सञ्जाल’ गठन भई सञ्जालले अन्तरक्रिया कार्यक्रमसहित प्रतिष्ठानलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
अन्तरक्रियाका क्रममा अक्सिजन प्लान्टको मर्मत समयमा नगरिएको, इमर्जेन्सी सेवा अव्यवस्थित भएको, उपकुलपति डा. ज्ञानेन्द्र गिरीका भाई अजय गिरीले कमिसन मागेको अडियो सार्वजनिक भएको लगायतका विषयहरुमा पत्रकार र राजनीतिक दलका नेताहरुले प्रश्न गरेका थिए । उक्त प्रश्नहरुको जवाफ उपकुलपति डा.गिरीले नदिएपछि वादविवाद सिर्जना भएकोमा धरानका मेयर तथा प्रतिष्ठानका सिनेटर तिलक राईले सहजीकरण गर्दै स्थितिलाई सामान्य रूपमा लगेका थिए । पत्रकारहरुले सोधेका प्रश्नको जवाफ उपकुलपतिले दिन नमानेपछि जवाफ दिनुपर्ने अडान लिएको र आक्रोश व्यक्त गरेको समेत धरान नागरिक दबाब सञ्जालका संयोजक डा.राजेन्द्र शर्माले बताए ।
आजको भेलाले ७ दिनभित्र अनुगमन समिति बनाई आउँदो मंगलबार फेरि बैठक बस्ने भएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु हुनुअघि नै अक्सिजन प्लान्ट मर्मत तथा सुधार गर्नुपर्नेमा नगरेको, कोभिड अस्पताललाई गुणस्तरीय नबनाएको र पदाधिकारीहरु गैरजिम्मेवार भएकोले ध्यानाकर्षण गराउन सर्वदलीय टोली पनि शान्तिपूर्ण रुपमा ओर्लिएको थियो । अक्सिजन अभावका कारण केही समययता बिरामी भर्नामा रोक लगाएको भन्दै टिकाटिप्पणीसमेत भएको थियो । प्रदेश नम्बर १ कै धरोहरको रुपमा चिनिएको बीपी प्रतिष्ठान विभिन्न राजनीतिक दलहरुको अखडाको रुपमा परिणत भएको छ । कोरोना महामारीको दोस्रो लहरसँगै जनमानसमा प्रतिष्ठानप्रति आशा पलाउनुको सट्टा झन विश्वास हटेर गएको छ ।