इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिकाले नगरभित्रका ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकहरुलाई कोरोना विरुद्धको खोप दिने भएको छ ।
जेठ २५ देखि २७ गतेसम्म विभिन्न वडाका ज्येष्ठ नागरिकलाई चरणबद्ध रुपमा खोप लगाइने उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार खोप लगाउनका लागि इटहरी अस्पताल, खनार स्वास्थ्य चौकी र हाँसपोसा स्वास्थ्य चौकीलाई खोप केन्द्र निर्धारण गरिएको छ । खोप लगाउन जाँदा बसोबास र उमेर खुल्ने परिचयपत्रहरु नागरिकता, मतदाता परिचयपत्र, बसाइँसराइ प्रमाणपत्र वा लाइसेन्समध्ये कुनै एक प्रमाण देखाउनुपर्ने छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि नागरिकता नभएका व्यक्तिले नागरिकता नभएको प्रमाणित गर्ने वडा कार्यालयको सिफारिसका आधारमा खोप लगाउन सक्ने जनाएको थियो । यद्यपि, इटहरी उपमहानगरपालिकाको सूचनामा भने त्यसबारे केही पनि उल्लेख छैन । ज्येष्ठ नागरिकलाई भेरोसेल खोप दिन लागिएको हो ।