इटहरीः सुनसरीको देवानगञ्ज गाउँपालिका २ की एक १७ वर्षीया किशोरीमाथि अपहरणपछि बलात्कार भएको छ ।

बलात्कारमा सोही ठाउँका एक युवकको संलग्नता रहेको पीडित किशोरीका बाबुले जानकारी दिए । उनले पत्रकार सम्मेलनमार्फत् आफूलाई न्याय दिलाइदिन स्थानीय सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । पीडकले आफूलाई मकै टिप्न अन्य दुई महिलासँग मकै टिप्न जाने क्रममा जेठ १७ गते बिहान ६ बजे बाटोबाटै अपहरण गरी उखुबारीमा लगी बिहान ९ बजेसम्म जबर्जस्ति करणी गरेको बताएकी छन् । सो वडाका वडाध्यक्ष मजलुम अन्सारीले आफूले जानकारी पाएलगत्तै आवश्यक कारबाही गराउन पीडित पक्षलाई इलाका प्रहरी कार्यालय देवानगञ्ज पठाइदिएको जानकारी दिए ।

पीडितका बाबुले भने जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिएको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कमल थापाका अनुसार २२ वर्षीय युवकविरुद्ध पीडित किशोरीकी आमाले दर्ता गराएको जाहेरीका आधारमा प्रहरीले निजको खोजी अगाडि बढाएको छ ।