इटहरीः प्रदेश १ र प्रदेश २ मा नेपाल आयल निगमको स्वामित्वमा एलपी ग्यास बोटलिङ प्लान्ट निर्माण हुने भएको छ ।

प्रदेशमा झापाको चारआली र प्रदेश दुईमा सर्लाही वा जनकपुरमा रहेको आफ्नै जग्गामा प्लान्ट निर्माणको योजना रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । सोको प्राविधिक प्रतिवेदन निर्माणका लागि परामर्शदाता नियुक्त गरिएको र हाल प्लान्टको विस्तृत योजना प्रतिवेदन (डीपीआर) अन्तर्गतको प्राविधिक प्रतिवेदन निर्माणको कार्य जारी रहेको उनको भनाइ छ । आर्थिक वर्ष २०७८र०७९ मा निर्माण प्रकृया सुरु हुने निगमको भनाइ छ ।

झापामा पाँच बिघा, जनकपुरमा १० बिघा र सर्लाहीमा २१ बिघा जग्गा रहेको जनाउँदै निगमले दुवै प्रदेशमा निर्माण हुने बोटलिङ प्लान्टको क्षमता पाँच पाँच हजार मेट्रिक टन रहने उल्लेख गरेको छ ।