इटहरीः प्रदेश १ प्रदेशसभाको बजेट अधिवेशन आज अपराहन्न २ बजेका लागि आह्वान गरिएको छ ।
संसदीय दलका नेताहरूले शुभकामना मन्तव्य दिने र प्रदेश आर्थिक कार्यविधि ऐन (दोस्रो संशोधन) संशोधन अध्यादेश पेस हुने कार्यसूचीसहित आह्वान गरिएको आजको बजेट अधिवेशन प्रदेशसभाको आठौँ अधिवेशन रहेको प्रदेशसभा सचिवालयका प्रशासन महाशाखा प्रमुख चन्द्रमणि पोख्रेलले जानकारी दिए । उनका अनुसार आजको अधिवेशनका लागि सम्पूर्ण प्रदेशसभा सदस्य, प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षाकर्मी तथा संसदीय पत्रकारहरुको पीसीआर परीक्षण गरी कोरोना संक्रमण भए नभएको यकिन गरिसकिएको छ । पीसीआर परीक्षणबाट दुई सवारी चालक, दुई सुरक्षाकर्मी र एक पत्रकार गरी पाँच जनामा संक्रमण पुष्टि भएको पनि पोख्रेलले जानकारी दिए ।
प्रदेश सरकारले आर्थिक कार्यविधि ऐनलाई अध्यादेशमाफृत् संशोधन गरेको छ । संशोधित व्यवस्था अनुसार बजेट सार्वजनिक गर्नुभन्दा पाँच दिन मात्र अधि पूर्वबजेट छलफल गर्न सकिने भएको छ । यसअघि १५ दिनअघि नै पूर्वबजेट छलफल गरेर मात्र बजेट ल्याउनुपर्ने व्यवस्था थियो । बजेट अधिवेशन आह्वानको पूर्वसन्ध्यामा हिजो बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रतिपक्षी दलको ध्यानाकर्षणलाई बेवास्ता गर्दै अध्यादेशमार्फत् ऐन संशोधन गरी पूर्वबजेट छलफललाई औपचारिकतामा सिमीत गरिएको ठहर गरेको थियो ।