इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित एयरपोर्ट रोडमा बिहीबार साँझ ७ः३० बजे मानवीय क्षति हुनेगरी भएको कार दुर्घटनाका जिम्मेवार रोविन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश १ की नेपाली कांग्रेससम्बद्ध प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा रोविनलाई प्रहरीले हिजो अपराहन्न उनकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले बताए । उनका अनुसार कार्कीमाथि सवारी ज्यान अभियोगमा जिल्ला अदालत मोरङबाट म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ । प्रदेशसभा सदस्य बिन्दियाले प्रयोग गर्ने गरेको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार उनका छोरा रोविनले चलाएकै बखतमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने अर्का एक जना घाइते भएका थिए ।
मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत कटिहार जिल्ला घर भएका ३७ वर्षीय मुकेश शर्मा रहेका थिए । प्रवक्ता राईका अनुसार दुर्घटनामा परी मोरङको कटहरी गाउँपालिका २ का २७ वर्षीय राजकुमार राजवंशी घाइते भएका थिए । किरिया खर्च बापतको ५० हजार भारतीय रुपैयाँ दुर्घटना गराउने रोविनकी आमाबाट पाएपछि मृतक शर्माका आफन्तले घटनाको भोलिपल्ट उनको शव बुझेका थिए । त्यसैगरी, घाइते राजवंशी पनि नोबेल अस्पतालबाट सोही दिन डिस्चार्ज भएका थिए । राजवंशीको उपचार खर्च पनि प्रदेश सांसद बिन्दियाले नै तिरेकी थिइन् । तर, उनले आफ्ना छोराले कार नचलाएको दाबी गरेकी थिइन् ।
सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्ससमेत नभएका छोराले कार चलाएकोमा दुर्घटना भई मानवीय क्षति भएपछि छोरालाई बचाउन लाइसेन्सप्राप्त युवाहरुलाई दुर्घटनाको जिम्मेवारी लिन प्रदेश सांसद बिन्दियाले हारगुहार गरेको स्रोतले बताएको छ । यता, दुर्घटना भएको समयमा घटनास्थलमा जडित सीसी क्यामरामा रेकर्ड भएका फुटेजसमेत गायब गरिएको थियो । घटनाको अनुसन्धान प्रभावित पार्न फुटेज डिलिट गरिएको स्रोतको भनाइ छ । विराटनगरस्थित होटल एडमायरका सञ्चालक पंकज शाहलाई गिरफ्तार गरेको प्रहरीले कार चालकको भने पहिचान हुन नसकेको दाबी गरेको थियो । यद्यपि, घटनास्थलमा परिचालित कनिष्ठ प्रहरी अधिकारीहरुले भने कार रोविनले नै चलाएको बताएका थिए । पक्राउ परेका शाहकै होटलमा गई रोविन र उनका केही साथीहरुले मदिरा सेवन गरेका थिए ।
शाहलाई निषेधाज्ञा अवधिमा होटल सञ्चालन गरेको कसुरमा नियन्त्रणमा लिइएको कुटनीतिक जवाफ प्रहरीले दिएको थियो । दुर्घटनालगत्तै रोविन र उनकी आमा विराट मेडिकल कलेज तथा विराटनगर अस्पतालसमेत पुगेको अस्पतालका कर्मचारीले बताएका थिए । दुर्घटनाका समयमा आफूहरु अस्पतालमा भर्ना भई उपचार गराइरहेको देखाउन उनीहरु अस्पताल पुगेको हुन सक्ने आशंका गरिएको छ । प्रहरीले घटनाबारे रिपोर्टिङ नगर्नसमेत सञ्चारकर्मीलाई बदनियतपूर्ण आग्रह गरेको थियो । यद्यपि, सञ्चारकर्मीले लगातार रिपोर्टिङ गरिरहेपछि दबाबमा परेको प्रहरीले अभियुक्त रोविनलाई पक्राउ गरेको हो । दुर्घटनामा परेको कारमा सवारहरुको बयान र प्राप्त प्रमाणका आधारमा कार चालक कार्की नै रहेको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।