इटहरीः प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाइने भएको छ ।

जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाइने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भइरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिए । उनका अनुसार भोलिसम्म प्रदेश १ का सबै जिल्लामा खोप पुगिसक्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश १ मा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ । प्रदेश स्वास्थ्य आपुर्तीमा आएको खोपलाई जिल्ला–जिल्लामा पठाउने काम भइरहेको उनले बताए । शाहका अनुसार ताप्लेजुङमा ३,७०३, संखुवासभामा ४,४००, सोलुखुम्वुमा २,८८५, ओखलढुङ्गामा ४,२९१, खोटाङमा ४,८४८, भोजपुर ४,३४७, धनकुटामा ४,८५३, ते¥हथुममा २,८४६, पाँचथरमा ५,५८१, इलाममा ८,८६२, झापामा २६,४१९, मोरङमा ३१,१८५, सुनसरीमा २६,१३२, उदयपुरमा १०,१५१ डोज खोप पठाउने काम भइरहेको छ ।

शाहका अनुसार दुवै डोजका लागि खोप पठाइएको छ ।कोभिड १९ विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका व्यक्तिहरुलाई मात्र लगाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छन् । उनले सवै नागरिकलाई चाँडो भन्दा चाँडो कोभिड १९ विरुद्धको खोप लगाउन सरकार लागि परेको बताइन् । विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन सरकारले मापदण्ड बनाएकाले सोही अनुसार गर्न भनिएको उनले बताइन् ।