इटहरीः मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ को स्थायी वडा कार्यालय भवनको आइतबार शिलान्यास गरिएको छ ।
नगरले सोही वडाको भीमचौरी जागृति टोलमा एक कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको हो । भवनको शिलान्यास नगरप्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत डा. कृष्णबहादुर घिमिरे र वडाध्यक्ष रामप्रसाद रिजालको उपस्थितिमा गरिएको हो । करिब साढे ३ कठा क्षेत्रफलमा वडा कार्यालय बन्ने भएको हो । सो भवनको निर्माण लागत ६० लाख लाग्ने नगरको अनुमान रहेको छ ।
भाडाको घरमा वडा कार्यालय सञ्चालन गर्दा विभिन्न समस्या आउने गरेको भन्दै भवनको निर्माणले वडाको कार्यसम्पादनमा सहजीकरण हुने वडाध्यक्ष रिजालको भनाइ छ । भाडाको घरमा वडा कार्यालय सञ्चालन गर्दा आर्थिक भार बढी हुने भन्दै नगरप्रमुख ढकालले वडा कार्यालय निर्माणपश्चात् सो भार कम हुने बताए ।