झापाः झापामा कोराना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा नेपाली सेनासँगै नेपाल स्काउटको टोली पनि जुटेको छ ।
शनिबार भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि सेनासँगको सहकार्यमा स्काउटको टोलीले शव व्यवस्थापन गरेको हो । स्काउटको प्रदेश नं १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोली शव व्यवस्थापनमा जुटेको हो । कोरोना सङ्क्रमितको मृत्युदर तीव्र हुँदै जाँदा सेनाले प्रशिक्षण दिएपछि पहिलोपटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो । जिल्लामा दमक, गौरादह, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज, कमल गाउँपालिकामा रामप्रसाद पौडेल, बिर्तामोड, कनकाई, अर्जुनधारा नगरपालिका, झापा, बुद्धशान्ति गाउँपालिकामा केशी श्रेष्ठ, मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, बाह्रदशी, कचनकवल गाउँपालिकाका लागि भने अरुण बस्नेतलाई कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि संयोजकको रूपमा स्काउटले तोकेको छ ।
जिल्लामा शनिबार मात्र सात जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो । एक वर्षको अवधिमा कोरोना सङ्क्रमणबाट जिल्लामा दुई सय २५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाका स्रोत व्यक्ति जीवन चौलागाईँले बताए । -रासस