धरानः कोरोना महामारीको विषम परिस्थितिमा सुनसरीको धरान १७ का अतिविपन्न, गरिब, ज्यालादारी काम गरी खाने मजदुरहरुलाई भनेर धरान–१७ रेल्वे युथ क्लबले दिँदै आएको खाद्यान्न, औषधि र निःशुल्क ऐम्बुलेन्स सेवा छिमेकी वडा न ११ लाई पनि समेटिएको छ ।
निःस्वार्थ सेवाको उद्देश्यका साथ “रेल्वे युथ क्लब“ ले “कोभिड–१९ राहत सहयोग कोष” स्थापना गरी हातमुख जोड्न गाह्रो भएकाहरुलाई सहयोग गर्दै आएकोमा धरान ११ बाट पनि विभिन्न माध्यमबाट जानकारी र प्रस्ताव आएको हुँदा सोचेभन्दा अन्य वडालाई पनि सहयोग गरेको अभियानका संयोजक नरसिंह राईले बताए । अभियानबाट हालसम्म ८४ घरलाई राहत वितरण गरिसकेको र जसमध्ये ७ परिवार अन्य वडाको रहेको अभियानका संयोजक राईले बताए । अभियानअन्तर्गत राहत स्वरुप आवश्यक परेकाहरुलाई खाद्यान्न सामग्री, निःशुल्क एम्बुलेन्स सेवा र औषधिहरु उपलब्ध गराइएको छ ।
यो महामारीमा अभियानअन्तर्गत युवाहरू साथ सहयोगमा व्यस्त भएको बेला नवनियुक्त उपप्रधान तथा सहरी विकास मन्त्री राजेन्द्र महतोको बहुराष्ट्रिय मुलुक निर्माण गर्ने अभिव्यक्तिप्रति रेल्वे युथ क्लबले आपत्ति जनाएको छ । दिइएको अभिव्यक्ति नसच्याए युवाहरू आफूनिकट राजनीतिक दलहरुसँग सहकार्य गरी सडकमा ओर्लिने समेत चेतावनी दिएका छन् ।