इटहरीः नेपाल आयुर्वेद औषधि व्यवसायी संघ प्रदेश १ ले प्रदेशभरका कोरोना संक्रमितलाई आयुर्वेदिक औषधि निशुल्क वितरण गर्ने भएको छ ।

प्रदेश तथा प्रदेश बाहिरका आयुर्वेदिक पसल सञ्चालकहरुबाट औषधि संकलन गरेर संक्रमितकहाँ पुर्याउन लागेको संघका प्रदेश १ अध्यक्ष जगदबहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा भोलि अर्थात् आइतबारदेखि संघले औषधि वितरण गर्न लागेको हो । विशेषतः प्रतिरक्षा क्षमता (इम्युनिटी पावर) वृद्धि गर्न सहयोग गर्ने औषधिहरु वितरण गरिने उनले जानकारी दिएका छन् । यसका साथै मास्क र स्यानिटाइजर पनि वितरण गर्ने उनले बताए ।

संकलन गरेका औषधिलाई पुनः प्रशोधन गरेर संघले अधिक प्रभावकारी बनाउनेछ । त्यसपछि संक्रमितको अवस्था हेरेर विभिन्न मात्रामा औषधि वितरण गर्ने आयुर्वेदिक व्यवसायी डा.इश्वर अधिकारीले जानकारी दिएका छन् । प्रदेश तथा प्रदेश बाहिरका व्यवसायीबाट दुई लाख ७५ हजार रुपैयाँ बराबरको औषधि संकलन गरिएको संघ प्रदेश १ का सचिव जीपी तिवारीले जानकारी दिए ।