इटहरीः मोटरसाइकल चोरीमा संलग्न सुनसरीको इटहरीका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इटहरी १३ का २८ वर्षीय राजेश मेहता, इटहरी २० का ३८ वर्षीय बलराम गुरूङ, इटहरी २ का ३९ वर्षीय सुवास लिम्बू, इटहरी ३ का ३० वर्षीय मचिन राई, इटहरी ४ का २१ वर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियार रहेका छन् । गत जेष्ठ १२ गते राति मोरङको सुन्दरहरैचा ४ बस्ने मदनकुमार चौधरीको नाममा रहेको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो रङको २०० सीसीको एनएस मोटरसाइकल घरबाटै चोरी भएपश्चात इलाका प्रहरी कार्यालय बेलबारीले सुक्ष्म रुपमा अनुसन्धान तथा खोजतलास थालेको थियो ।
खोजतालसको क्रममा प्रहरीले गत जेष्ठ २१ गते चोरी भएको मोटरसाइकल राजेश मेहताको घरबाट फेला पारी मेहतासहित मोटरसाइकल नियन्त्रणमा लिएको हो । मेहता पक्राउ परेपश्चात् चोरीमा संलग्न बाकी ६ जनालाई आ–आफ्नै घरबाट प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।