धरानः सुनसरीको धरानमा युवाहरू कोरोना संक्रमणबाट ज्यान गुमाएका मानिसको शव व्यवस्थापन गर्न निःस्वार्थ रुपले लागिपरेका छन् ।

आफ्नै ज्यानको पर्वाह नगरी मानवताको आधारमा धरान १५ का युवाहरू कुनै सेवा सुविधा नलिई सेउति मुक्तिघाटमा शव व्यवस्थापन गर्न लागिपरेका हुन् । आज दुई जना संक्रमितसहित हालसम्म १४ जनाको अन्त्येष्टि गरिएकोमा १३ जना कोरोनाबाट मृत्यु भएकाहरु हुन् । एक जना भने प्रहरी जवान रहेका थिए जसको मृत्यु खोलामा डुबेर भएको थियो । कोरोनाबाट मृत्यु भएकाहरुलाई सुरक्षित तरिकाले ल्याइने र अन्त्येष्टि गरिने भएको हँुदा संक्रमणबाट मृत्यु भएकाहरुसँगभन्दा पनि मृतकका आफन्तहरुसँग बढी डर लाग्ने बाँझघरा सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष तथा नेकपा एमालेका युवा नेता कुमार भारति बताउँछन् । उनले परिवारलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्दै सम्पूर्ण व्यवस्थापन आफैँले गरिदिने पनि बताएका छन् । त्यहाँ कतिपयका आफन्त नभएको खण्डमा शवको दाहसँस्कार पनि युवाहरुले नै गरेको युवा नेता भारतिले बताए ।

received_512591346753082

पहिले दुई वटा शव जलाएपछि त्यस ठाउँमा पनि अवरोध आएको थियो । सबै जनाको सहकार्यमा पुनः शव व्यवस्थापन गर्ने वातावरण मिलेको हो । उक्त घाटमा शव व्यवस्थापन गर्न आवश्यक दाउरा र पानी वडा कार्यालयले सहयोग गरिरहेको छ भने धरान उपमहानगरपालिकाले पनि दाउरा व्यवस्थापनमा सहयोग गरिरहेको सेउति मुक्तिघाका सचिव राजकुमार खत्रीले बताए । आवश्यक परेको खण्डमा अझै साथ सहयोग गर्न पछि नहट्ने सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष राजनकुमार मोक्तानले बताए । धरानमा कोरोनाबाट मृत्यु भएकाहरुको अन्त्येष्टि गर्न केही समय विवाद नै चलेको थियो । पहिलो विवाद धरान १५ खत्रीधाराबाट सुरु भएर चतरासम्म पुगेको थियो । कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न खोज्दा स्थानीयहरु विरोधमै ओर्लिएका थिए । मानवतामाथि नै प्रश्न चिन्ह उठाउने गरी शव व्यवस्थापनमा अवरोध भएपछि बाँझघरा सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्यमा सेउति मुक्तिघाटमा धरानका संक्रमितको शव व्यवस्थापन गर्ने वातावरण मिलेको थियो ।