इटहरीः सनलाइट डी थ्री, यसकै बिक्री तथा उपयोगबाट समस्या भएको भन्दै सुनसरीको इटहरीमा अहिले चर्काचर्की भइरहेको छ ।
गत जेष्ठ १९ गते उपमहानगरपालिकाले उपमहानगरमा रहेका विभिन्न औषधि पसलमा गरेको अनुगमनको क्रममा यो औषधिमा लेवलिङ केरमेट भएको पाइएको थियो । यसरी औषधिको उत्पादन मितिमा स्टिकर टाँसेर अर्कै मिति राखेको भन्दै उपमहानगरपालिकाका कर शाखा प्रमुख नवीन भट्टराईसहितको टोलीले गरेको अनुगनको क्रममा इटहरीका दुई मेडिकल पसल र सप्लायर्स कारबाहीमा परेका थिए । यसै विषयलाई लिएर अहिलेसम्म यसको विवाद समाधान हुन सकेको छैन । विरोधस्वरुप २० गते इटहरीका सबै मेडिकल पसल सञ्चालक स्वयंले बन्द गरेका थिए । सनलाइट डी थ्री १८ महिनाभन्दा कम उमेरका शिशुलाई खुवाउने भिटामिन हो । यसमा भिटामीन ‘डी’ रहेको हुन्छ । त्यसैले सूर्यको प्रकाशबाट पाउने भिटामिन डी को कमी भएका शिशुलाई यो खुवाउने गरिन्छ ।
तर, स–साना मात्रामा तेलमा तारेको माछा, पशुको खाना र कोड लिभर तेलमा पनि यो भिटामिन पाउन सकिन्छ । तर, १८ महिनासम्मका शिशुले यसको सेवन गर्न नसक्ने भएकाले ‘सनलाइट डी थ्री’ खुवाइन्छ । विशेषतः यसले शिशुको स्वास्थ्य वृद्धि विकासमा सहयोग पुर्याउँछ । अहिले इटहरीका मेडिकल पसलले बेच्ने गरेको भिटामिन भने भारतीय औषधि उत्पादक कम्पनी ‘लाइफ लाइन वायोटेक’ले उत्पादन गरेको हो । यसमा कार्बोहाइड्रेट ०.००४० ग्राम र फ्याट पनि ०.००४० ग्राम नै हुन्छ । यस्तै यसमा र्सोविटोल, भिटामिन, सोडियम मिलाइल, साइट्रिक एसिडजस्ता तत्वको पनि मिश्रण हुन्छ । जुन विभिन्न फलफुलको स्वादमा पाइन्छ । यसलाई १८ महिनासम्मका शिशुलाई दिनको एक पटक खुवाइने गरिन्छ । एक पटकमा एक एम.एल यो भिटामिन कुनै खाना, दुध, पानी वा जुसमा मिलाएर दिनुपर्छ । अधिकांश औषधि पसलमा यो भिटामिन बिक्री गर्ने गरेको भएपनि औषधि व्यवस्था विभागले यसको बिक्री वितरण गर्न अनुमति दिएको छैन । तर, चिकित्सकले नै खुवाउन सिफारिस गर्ने भएको हुँदा आफूहरुल बिक्री गर्न बाध्य भएको मेडिकल सञ्चालक बताउँछन् । विशेषतः यसको कारोबार खाद्यान्न पसलमा हुने गर्दछ ।