इटहरीः मोरङको विराटनगर महानगरपालिकास्थित एयरपोर्ट रोडमा हिजो साँझ ७ः३० बजे मानवीय क्षति हुनेगरी भएको कार दुर्घटनाका जिम्मेवार रोविन कार्कीलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन ।

कार्की प्रदेश १ की प्रदेशसभा सदस्य बिन्दिया कार्कीका छोरा हुन् । प्रदेशसभा सदस्य बिन्दियाले प्रयोग गर्ने गरेको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कार उनका छोरा रोविनले चलाएकै बखतमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको थियो भने अर्का एक जना घाइते भएका थिए । मृत्यु हुनेमा भारतको बिहार राज्यअन्तर्गत कटिहार जिल्ला घर भएका ३७ वर्षीय मुकेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायबउपरीक्षक (डीएसपी) मानबहादुर राईले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परी मोरङको कटहरी गाउँपालिका २ का २७ वर्षीय राजकुमार राजवंशी घाइते भएका थिए । मृतक शर्माको शव किरिया खर्च बापतको ५० हजार भारतीय रुपैयाँ दुर्घटना गराउने रोविनकी आमाबाट पाएपछि शर्माका आफन्तले बुझेका छन् । त्यसैगरी, घाइते राजवंशी पनि नोबेल अस्पतालबाट डिस्चार्ज भएका छन् । राजवंशीको उपचार खर्च पनि प्रदेश सांसद बिन्दियाले नै तिरेकी छन् । तर, उनी आफ्ना छोराले कार नचलाएको दाबी गरिरहेकी छन् ।

सवारी चालक अनुमतिपत्र अर्थात् लाइसेन्ससमेत नभएका छोराले कार चलाएकोमा दुर्घटना भई मानवीय क्षति भएपछि छोरालाई बचाउन लाइसेन्सप्राप्त युवाहरुलाई दुर्घटनाको जिम्मेवारी लिन प्रदेश सांसद बिन्दियाले हारगुहार गरिरहेको स्रोतले बताएको छ । यता, दुर्घटना भएको समयमा घटनास्थलमा जडित सीसी क्यामरामा रेकर्ड भएका फुटेजसमेत प्रहरीले फेला पार्न सकेको छैन । घटनाको अनुसन्धान प्रभावित पार्न फुटेज डिलिट गरिएको स्रोतको भनाइ छ । विराटनगरस्थित होटल एडमायरका सञ्चालक पंकज शाहलाई गिरफ्तार गरेको प्रहरीले कार चालकको भने पहिचान हुन नसकेको दाबी गरिरहेको छ । यद्यपि, घटनास्थलमा परिचालित कनिष्ठ प्रहरी अधिकारीहरुले भने कार रोविनले नै चलाएको बताएका छन् । पक्राउ परेका शाहकै होटलमा गई रोविन र उनका केही साथीहरुले मदिरा सेवन गरेका थिए । शाहलाई निषेधाज्ञा अवधिमा होटल सञ्चालन गरेको कसुरमा नियन्त्रणमा लिइएको कुटनीतिक जवाफ प्रहरीले दिएको छ । दुर्घटनालगत्तै रोविन र उनकी आमा विराट मेडिकल कलेज तथा विराटनगर अस्पतालसमेत पुगेको अस्पतालका कर्मचारीले बताएका छन् । दुर्घटनाका समयमा आफूहरु अस्पतालमा भर्ना भई उपचार गराइरहेको देखाउन उनीहरु अस्पताल पुगेको हुन सक्ने आशंका गरिएको छ ।